राक्सिराङ्ग गाउँपालिका र वाइन टु वाटर नेपालबीच पाँच खानेपानी योजना निर्माणका लागि सम्झौता, १६५ घरधुरी लाभान्वित

Image

हेटौंडा / आर्थिक वर्ष २०८२/८३ मा मकवानपुरको राक्सिराङ्ग गाउँपालिका र वाइन टु वाटर नेपाल बीच पाँच वटा खानेपानी तथा सरसफाई (WASH) योजनाको निर्माण र विस्तारका लागि सम्झौता भएको छ। सम्झौता कार्यान्वयनमा आएपछि १६५ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन्, गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो।

अध्यक्ष मल्लका अनुसार, सम्झौतामा आधारित योजनाहरूले सुरक्षित पिउने पानीको पहुँच विस्तार, स्वास्थ्य जोखिम न्यूनीकरण, र सरसफाइमा सुधार ल्याउने लक्ष्य राखेका छन्। गाउँपालिकाले आवश्यक प्राविधिक र प्रशासनिक सहयोग प्रदान गर्नेछ भने वाइन टु वाटर नेपालले आर्थिक तथा प्राविधिक साझेदारीमार्फत योजना कार्यान्वयनमा जोड दिने बताइएको छ।

स्थानीयवासीहरूले भने लामो समयदेखि पानी अभाव झेलिरहेका बस्तीहरूमा यो योजना महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छन्। योजनाहरू समयमै सम्पन्न भएमा गाउँपालिकाका अधिकांश परिवारहरू सुरक्षित पानी र सरसफाइ सेवामा पहुँच प्राप्त गर्नेछन्।