हेटौँडा/ मिति २०८२ मंसिर २५ गते साँझ करिब ५:१५ बजे, हेटौँडा उपमहानगरपालिका–५ सानोपोखरा चोक नजिक विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले २४ पोका लागुऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।
विपद् व्यवस्थापन प्रहरी बसोबास (व.प्र.का.) सानोपोखरा, हेटौँडाबाट प्रहरी निरीक्षक धर्मराज खत्रीको कमाण्डमा गएको टोलीले हेटौँडा उप–महानगरपालिका–९ त्रिवेणीका २२ वर्षीय सुमित थापा मगरलाई नियन्त्रणमा लिएको हो। निजले प्रयोग गरेको ना–२३–प–४३४ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।
प्रहरीका अनुसार थापा मगरको साथबाट रातो प्लाष्टिकमा पोका पारेर राखिएको अवस्थामा २४ पोका खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको थियो। बरामद पदार्थको जि.प्र.का. मकवानपुरमा तौल गर्दा प्लाष्टिकसहित ४.२७० ग्राम र प्लाष्टिक बाहेक २.०९० ग्राम रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा झिकाइएको प्रहरीले जानकारी दिएको छ।

















