हेटौंडा/ हेटौंडा–८ राजपानीस्थित सर्वोत्तम संचिती बचत तथा ऋण सहकारी संस्थाले आफ्ना आर्थिक उपलब्धि मात्र होइन, स्थानीय उत्पादनको बजार विस्तारलाई मुख्य एजेन्डा बनाउँदै १९औँ वार्षिक साधारण सभा शुक्रबार सुरु गरेको छ। दुईदिने सभा तथा प्रदर्शनीको उद्घाटन सहकारीका अध्यक्ष रामबहादुर बस्नेतको सभाध्यक्षतामा र बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
सहकारीले साधारण सभासँगै स्थानीय उत्पादन र सदस्यहरूको उद्यमशीलतालाई जोड दिने उद्देश्यले बृहत उत्पादन प्रदर्शनी तथा छुटसहित बिक्री मेला सञ्चालन गरेको छ। अध्यक्ष बस्नेतका अनुसार सहकारीले उत्पादन गरेका ५० भन्दा बढी वस्तुहरू प्रत्यक्ष रूपमा प्रदर्शनीस्थलमै राखिएका छन्। दुई दिनसम्म चल्ने मेलामा दैनिक उपभोग्य सामग्री सस्तो मूल्यमा खरिद गर्न सकिने र करिब २० हजार अवलोकनकर्ता आउने अनुमान गरिएको छ।
आर्थिक सुदृढताका दृष्टिले पनि सहकारीले पछिल्लो आवमा उल्लेखनीय प्रगति गरेको छ। सहकारीका व्यवस्थापक राजाराम थापाका अनुसार सहकारीले हालसम्म ६ करोड २२ लाख ५९ हजार ४६७ रुपैयाँ कर्जा प्रवाह गरेको छ भने १५ करोड ७८ लाख ४७ हजार ३४९ रुपैयाँ बचत संकलन गर्न सफल भएको छ। आव २०८१/८२ अनुसार सहकारीको शेयर पुँजी २ करोड ९० लाख ६८ हजार ६ सय रुपैयाँ तथा जगेडा कोष २२ लाख ५७ हजार ३९८ रुपैयाँ पुगेको छ। सहकारीमा ३,००० भन्दा बढी शेयर सदस्य रहेका छन्।
कार्यक्रममा हेटौंडाका जनप्रतिनिधि, सहकारी क्षेत्रका अग्रजहरू, राष्ट्रिय सहकारी बैंकका अधिकारी, उद्योग संघ मकवानपुरका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उपस्थिति थियो। स्थानीय उत्पादनलाई प्रोत्साहन, सदस्य हित संरक्षण, तथा कर्जा–बचत सेवामा पारदर्शिता बलियो बनाउँदै सहकारीले आगामी वर्षमा अझ प्रभावकारी कार्यक्रम ल्याउने संकेत गरेको छ।

















