हेटौडामा घर भत्काउने क्रममा तीन जना कामदार घाइते

Image

हेटौडा/ हेटौडा उपमहानगरपालिका–१ पिपलबोटस्थित उद्योग वाणिज्य संघ अगाडि रहेको एक घर भत्काउने क्रममा तीन जना कामदार घाइते भएका छन्। २८ गते दिउँसो अन्दाजी ३:५० बजेको समयमा घरधनी बिकी जैसवालले आफ्नै घर कामदार लगाई भत्काउने क्रममा उक्त दुर्घटना भएको हो। घर भत्काउने क्रममा अचानक संरचना भासिँदा काममा संलग्न तीन जना कामदार घाइते भएका हुन्।

घटनाको जानकारी पाउनासाथ स्थानीयवासीको सहयोगमा प्रहरीले घाइतेहरूको उद्दार गरी उपचारका लागि अस्पताल पठाएको थियो। घटनामा घरधनीका भाई अजय जैसवाल संलग्न रहेको बुझिएको छ। उक्त स्थान प्रहरी चौकी चौकिटोलबाट अन्दाजी १ किलोमिटर दक्षिणमा पर्दछ।

घाइते हुनेहरूमा मकवानपुरगढी गाउँपालिका–१ रानिसेरा बस्ने अन्दाजी २२ वर्षीय सन्तोष भ्लोन, उदयपुर गाईघाट नगरपालिका–९ बस्ने अन्दाजी २६ वर्षीय दिनेश चौधरी र उदयपुर बेलका नगरपालिका–१ पुरन्दा बस्ने अन्दाजी ३० वर्षीय अरुण चौधरी रहेका छन्। सन्तोष भ्लोन र दिनेश चौधरीको मकवानपुर सहकारी अस्पतालमा तथा अरुण चौधरीको हेटौडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तीनै जनाको अवस्था मध्यम रहेको बताइएको छ।