मकवानपुरमा २२ किलो ६०० ग्राम गाँजासहित एक महिला पक्राउ

Image

हेटौंडा/ मकवानपुर प्रहरीले प्रतिबन्धित लागू औषध गाँजा २२ किलो ६०० ग्रामसहित एक महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मिति २०८२ साल मंसिर २७ गते अपराह्न करिब ३:२० बजे हेटौडा उपमहानगरपालिका वडा नं. ३ लेवटस्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा प्रहरी चौकी लेवटबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा शंकास्पद रूपमा हिँडिरहेकी एक महिलालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. १ निवासी ४५ वर्षीया लक्ष्मीमाया गोले रहेकी छन्। प्रहरीका अनुसार रीतपूर्वक खानतलासी गर्दा उनले बोकेको जेब्रा झोलाभित्र प्रतिबन्धित लागू औषध गाँजा २२ किलो ६०० ग्राम फेला परेको थियो।

बरामद गरिएको लागू औषधसहित उनलाई नियन्त्रणमा लिई लागू औषध कसुर मुद्दामा सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।