हेटौंडा / मकवानपुर जिल्लाको बकैया गाउँपालिका–९ कुडुलेमा विद्युत सर्ट भई एक घरमा आगलागी हुँदा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ।
मंसिर २८ गते साँझ करिब ४ः३० बजेको समयमा स्थानीय प्रकाश थिङको माटो, ढुंगा, काठ र जस्ताले बनेको भुईँतले घरमा अचानक आगलागी भएको हो।
आगलागीको समयमा घरमा कोही नभएको बताइएको छ।
विद्युत सर्टका कारण भएको आगलागीबाट घरभित्र रहेका भाँडावर्तन, अन्नपात, लत्ताकपडा, फर्निचरलगायत सम्पूर्ण सामान जलेर पूर्ण रूपमा नष्ट भएका छन्। घटनाबाट मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।
आगलागी भएको खबर साँझ करिब ६ः३० बजे प्रहरी चौकी हात्तिसुडेमा प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक कृष्णकुमार लामाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। उक्त स्थान प्रहरी चौकी हात्तिसुडेबाट करिब ७ किलोमिटर उत्तरतर्फ पर्दछ।
प्रहरीका अनुसार आगलागीबाट करिब पाँच लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ।

















