सबै धर्मको रक्षा गर्नु सरकारको दायित्व होः अध्यक्ष मुक्तान

Image

हेटौंडा/ मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सरकारको कुनै धर्म नहुने र सबै धर्मको रक्षा गर्नु सरकारको दायित्व भएको बताएका छन्।

इसाई एकता समाज कैलाश गाउँपालिकाको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय येशु ख्रीष्टको जन्मोत्सव (क्रिसमस) शुभकामना आदान–प्रदान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष मुक्तानले जात, धर्म, कला र संस्कृतिको संरक्षण तथा जगेर्ना गर्ने जिम्मेवारी सरकारको भएको स्पष्ट पारे।

उनले सबै धर्मावलम्बीबीच सामूहिक एकताको आवश्यकता औंल्याउँदै भने, “आफ्नो संस्कार जोगाउन सकेनौं भने हामी कहिल्यै पनि एकताको सूत्रमा बाँधिन सक्दैनौं।” सबै धर्म समान भएको उल्लेख गर्दै उनले स्थानीय सरकारले सबै मेला, जात्रा र पर्व मनाउन आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिए।

अन्य पर्वहरूमा लामो बिदा हुने तर क्रिसमसमा एक दिन मात्रै बिदा हुने अवस्थालाई ध्यानमा राख्दै इसाई धर्मावलम्बीहरूको संस्कार र परम्पराको सम्मानस्वरूप यस वर्ष गाउँपालिकाले क्रिसमस डे पर्वका लागि तीन दिन सार्वजनिक बिदा दिने घोषणा समेत अध्यक्ष मुक्तानले गरे।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले पर्वहरूले समाजमा एकताको भावना जागृत गराउने बताए। धर्म, परम्परा र रीतिरिवाज फरक भए पनि सबैको संरक्षण सरकारले गर्ने उनको भनाइ थियो। धार्मिक सहिष्णुता मजबुत भए समाजमा सकारात्मक परिवर्तन आउने पनि उनले उल्लेख गरे।

इसाई एकता समाजका अध्यक्ष आशिष थिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. २ का अध्यक्ष राजेन्द्र घिसिङ, वडा नं. ३ का अध्यक्ष देवलाल बल, वडा नं. ४ का अध्यक्ष तिलकबहादुर मुक्तान, वडा नं. ७ का अध्यक्ष उदासकुमार भोलन, वडा नं. ८ का अध्यक्ष आशिष प्रजा, एनसिएफ नेपालका अध्यक्ष रेभरेन हनोक तामाङ, कार्यपालिका सदस्यहरू राममाया प्रजा, सुन्तली सुनुवार, सम्झना मुक्तान, दिलमाया थिङलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा विभिन्न मण्डलीका कलाकारहरूले गायन तथा नृत्य प्रस्तुत गरेका थिए। कैलाश गाउँपालिकामा रहेका ४२ वटा विभिन्न मण्डलीमार्फत करिब पाँच हजार इसाई धर्मावलम्बीहरू आबद्ध रहेका छन्।