हेटौंडा / ख्रीष्टमसको अवसरमा हेटौंडामा आयोजित क्यारोल कार्यक्रमले धार्मिक उत्सवलाई मात्र नभई समाजमा शान्ति, प्रेम र आपसी सद्भावको सन्देश प्रवाह गरेको छ। शालोम एक्लेसिया चर्च, हेटौंडा–१२ विचरोडको आयोजनामा सम्पन्न उक्त कार्यक्रम हेटौंडा–११ स्थित सहिद स्मारक मा गरिएको हो।
सार्वजनिक स्थलमा आयोजना गरिएको कार्यक्रम शालोम एक्लेसिया चर्चका पास्टर पूर्ण बहादुर मुक्तानको अगुवाइमा भएको हो।कार्यक्रममा चर्चका सदस्यहरूको सहभागिता रहेको थियो भने क्यारोल गीत र स्तुतिमार्फत प्रभु येशू ख्रीष्टको जन्मको शुभ समाचार सर्वसाधारणमाझ पुर्याइएको थियो।
क्यारोल कार्यक्रम ख्रीष्टमसको बेला येशू ख्रीष्टको जन्मको खुशी सन्देश गीत र भजनमार्फत समुदायसम्म पुर्याउने उद्देश्यले आयोजना गरिने गरिन्छ। यसले प्रेम, शान्ति, आशा र उद्धारको भावनालाई उजागर गर्दै विभिन्न समुदायबीच सहिष्णुता र भाइचाराको विकासमा टेवा पुर्याउने विश्वास गरिन्छ।
कार्यक्रममा बाइबलको वचन “आज दाऊदको सहरमा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ।” (लुका २:११) लाई स्मरण गर्दै ख्रीष्टमसको सामाजिक र आत्मिक सन्देशमाथि प्रकाश पारिएको थियो।
आयोजकका अनुसार यस्ता खुला कार्यक्रमहरूले धार्मिक पर्वलाई समाजसँग जोड्ने र सकारात्मक सन्देश फैलाउने माध्यमको रूपमा काम गर्ने अपेक्षा गरिएको छ। सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त कार्यक्रमले सहभागी तथा दर्शकहरूलाई ख्रीष्टमसको भावना अनुभव गराएको थियो।

















