हेटौंडा/ किशोरी तथा महिलाको स्वास्थ्य र सम्मानित महिनावारी व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले हेटौंडा जेसीजले सार्वजनिक स्थानमा सेनेटरी प्याड भेन्डिङ मेसिन जडान गरेको छ। जेसीआई हेटौंडाको पहलमा सोमबार हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्क नजिक रहेको सामुदायिक प्रहरी सेवा उपकेन्द्र परिसरमा उक्त मेसिन जडान गर्दै निःशुल्क सेनेटरी प्याड वितरण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडाका प्रमुख प्रदीप कडेलले सार्वजनिक स्थलमा यस्ता सुविधाको विस्तारले आकस्मिक अवस्थामा महिलालाई सहजता प्रदान गर्ने भन्दै यसले महिनावारीसम्बन्धी लाज र संकोच कम गर्न सहयोग पुग्ने बताए।
जेसीआई हेटौंडाका कार्यक्रम संयोजक जेसी राहुल दासले यात्रुहरूको चहलपहल बढी हुने स्थानमा आवश्यक सामग्री सजिलै उपलब्ध गराउने उद्देश्यले मेसिन जडान गरिएको जानकारी दिए। उनका अनुसार यो अभियान महिलामैत्री समाज निर्माणतर्फको सानो तर प्रभावकारी कदम हो।
मेसिन हस्तान्तरण कार्यक्रममा हेटौंडा जेसीज वर्ष २०२० का शाखा अध्यक्ष राजेन्द्र बानियाँ, जेसीजका पदाधिकारीहरू, सामुदायिक प्रहरी सेवा उपकेन्द्रका प्रतिनिधि तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
जेसीआई हेटौंडाका महासचिव सञ्जकुमार न्यौपानेका अनुसार करिब ३० हजार रुपैयाँ बराबरको सेनेटरी प्याड भेन्डिङ मेसिन तथा प्याड सामुदायिक प्रहरी सेवा उपकेन्द्रलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा सहभागी वक्ताहरूले महिलाको स्वास्थ्य, सुरक्षा र गरिमासँग जोडिएका यस्ता सामाजिक पहललाई अन्य सार्वजनिक स्थानसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

















