भीमफेदी–कुलेखानी सडक खण्डमा टाटा सुमो दुर्घटना, एक महिला घाइते

Image

हेटौंडा / मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२, बतासे स्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा टाटा सुमो दुर्घटना हुँदा एक महिला घाइते भएकी छन्।

मंगलबार साँझ करिब ४:५० बजेको समयमा बिरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज ६९५६ नम्बरको टाटा सुमो अचानक ब्रेक जाम भई अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ। सुमोमा चालकसहित ९ जना सवार रहेको बताइएको छ।

दुर्घटनामा नाम, थर र वतन नखुलेकी करिब ४५/५० वर्षीया महिलाको टाउकोमा सामान्य चोट लागेको थियो। घाइते महिलालाई प्रहरी घटनास्थलमा पुग्नुअगावै उपचारका लागि काठमाडौँतर्फ पठाइएको थियो।

दुर्घटनाबाट सुमोमा क्षति पुगेको छ भने सवारी साधनलाई सडक छेउमा सारिएकाले यातायात आवागमन भने अवरुद्ध भएको थिएन। दुर्घटनास्थल प्रहरी चौकी खानिखेतबाट करिब ९ किलोमिटर पश्चिमतर्फ रहेको प्रहरीले जनाएको छ।