नेतृत्व पदले होइन, व्यवहार र जिम्मेवारीले चिनिनुपर्छ : प्रिन्सिपल जोशी

Image

हेटौँडा / हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले प्रभावकारी विद्यालय नेतृत्वका लागि सैद्धान्तिक ज्ञान मात्र पर्याप्त नहुने बताएका छन्। व्यवहारिक ज्ञान, प्रविधिगत सिप र निर्णय क्षमताले नै नेतृत्वको पहिचान गर्ने उनको भनाइ छ।

काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशनको आयोजनामा शनिबार नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा आयोजित स्कूल लिडर्स विन्टर समिट २०२५ कार्यक्रममा बोल्दै प्रिन्सिपल जोशीले नेतृत्व पदबाट होइन, जिम्मेवारी वहन गर्ने क्षमता र व्यवहारबाट चिनिनुपर्ने स्पष्ट पारे।

मकवानपुर जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका प्राध्यापक तथा सहायक प्राध्यापकहरूलाई सम्बोधन गर्दै उनले किताबमा सीमित ज्ञानले आजको तीव्र रूपमा परिवर्तनशील शैक्षिक वातावरणका चुनौती सामना गर्न नसकिने उल्लेख गरे। “नेतृत्वले समस्या समाधान गर्न सक्ने व्यवहारिक सोच र प्रविधिमैत्री दृष्टिकोण आवश्यक छ,” उनले भने।

कार्यक्रममा विद्यालयस्तरमा शिक्षक सशक्तीकरणका लागि छुट्टै पाठ्यक्रम निर्माण गरिएको जानकारी दिइयो। शिक्षण–सिकाइ प्रक्रियामा देखिएका समस्या र अनुभवलाई समेटेर जर्नल तयार गरिएको तथा ‘रिफ्लेक्टिभ’ कक्षा सञ्चालनमार्फत शिक्षकको पेशागत विकासमा जोड दिइएको जनाइएको छ।

समिटअन्तर्गत थिम आधारित सकारात्मक शिक्षण संस्कृतिको विकास, शिक्षण योजना तथा पाठ्यक्रमबीच समन्वय, नेतृत्वमार्फत कक्षा व्यवस्थापन सुदृढीकरण, साथै विद्यालय नेतृत्वकर्ताका लागि रुब्रिकसम्बन्धी कार्यशाला सञ्चालन गरिएको थियो।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख हरिचन्द्र सापकोटा, शिक्षा अधिकृत रमेश बिडारीलगायत शिक्षा क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।