हेटौंडा/ सडक विस्तारको नाममा आफ्नो घरटहरा भत्काइएपछि पनि उचित क्षतिपूर्ति नपाएको गुनासो गर्दै हेटौंडाका स्थानीयवासीहरू काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शनमा उत्रिएका छन्। हेटौंडामा २५ गज सडक सीमाभित्र पर्ने मुख्य बजार क्षेत्रका संरचना डोजर प्रयोग गरी भत्काइएपछि पीडितहरू न्यायको खोजीमा राजधान पुगेका हुन्।
पीडितहरूले निजी सम्पत्तिमाथि एकतर्फी रूपमा सरकारी डोजर चलाइएको र प्रभावित परिवारको पुनर्स्थापना तथा क्षतिपूर्तिको विषयमा कुनै ठोस पहल नगरेको आरोप लगाएका छन्। स्थानीय तहदेखि सम्बन्धित निकायसम्म पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि माइतीघरमै आएर दबाबमूलक प्रदर्शन गर्नुपरेको उनीहरूको भनाइ छ।
माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले प्लेकार्ड प्रदर्शन गर्दै धिमे बाजा बजाएर शान्तिपूर्ण विरोध जनाएका थिए। उनीहरूले आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी पनि दिएका छन्।

















