हेटौंडा/ मकवानपुर होटल एसोसिएसन, हेटौंडाको आयोजनामा १२ औँ सडक खाना महोत्सव–२०८२ पुस १३ गतेदेखि १६ गतेसम्म हेटौंडामा आयोजना हुने भएको छ। “सडकमै जाऔँ, सडकमै खाऔँ, सडकमै रमाऔँ” भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सव आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिन लागेको आयोजकले जनाएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवको जानकारी दिँदै एसोसिएसनले महोत्सवको समुद्घाटन पुस १३ गते दिउँसो ४ बजे माननीय संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले गर्ने जानकारी दिएको छ।
महोत्सव हेटौंडा उपमहानगरपालिका–स्थित हु.प्र. चौरको खेल मैदानदेखि पूर्वतर्फ उत्तर–दक्षिण सडक क्षेत्रमा आयोजना हुनेछ। चार दिनसम्म सञ्चालन हुने महोत्सवमा करिब ६० वटा स्टलहरू रहने छन्, जहाँ पौराणिक संस्कृतिदेखि आधुनिक शैलीसम्मका विभिन्न जातीय तथा सांस्कृतिक खानाका परिकार तथा नास्ताहरू उपलब्ध हुनेछन्।
महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, नृत्य, गायन तथा लाइभ ब्याण्ड कार्यक्रममार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएको छ। साथै, महोत्सव स्थललाई आकर्षक बनाउन डेकोरेटिभ झिलिमिली बत्तीहरू प्रयोग गरिने छ।
खानाको सफाइ तथा शुद्धतामा विशेष ध्यान दिइने, प्रत्येक स्टलमा मेनु अनिवार्य राखिने तथा दैनिक फोहोर व्यवस्थापनको व्यवस्था गरिने एसोसिएसनले जनाएको छ। सुरक्षा व्यवस्थाका लागि सुरक्षा निकाय तथा स्वयंसेवक परिचालन गरिने छ भने आपतकालीन अवस्थाका लागि रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरद्वारा एम्बुलेन्स र हेटौंडा उपमहानगरपालिकाबाट दमकलको व्यवस्था गरिएको छ। साथै, मकवानपुर सहकारी अस्पतालले आकस्मिक उपचार सेवा प्रदान गर्नेछ।
आयोजकका अनुसार महोत्सव सञ्चालनका लागि अनुमानित लागत करिब रु. १५ लाख ७२ हजार रहनेछ भने चार दिनमा स्टलमार्फत रु. ७० देखि ८० लाखसम्मको कारोबार हुने अपेक्षा गरिएको छ। महोत्सवमा स्थानीय तथा बाह्य जिल्लाका साथै दक्षिणी सिमावर्ती छिमेकी मुलुकबाट समेत गरी करिब ३० देखि ४० हजार दर्शक सहभागी हुने अनुमान गरिएको छ।

















