गैरकानुनी शुल्क असुली तुरुन्त रोक्नुपर्छ– विशाल राज महत

Image

हेटौंडा / हेटौंडा उपमहानगरपालिकाले फोहोर व्यवस्थापनको नाममा वर्षौंदेखि जनताको धैर्य, स्वास्थ्य र करमाथि खुलेआम खेलवाड गर्दै आएको आरोप लागेको छ। अनुगमन, निर्देशन र छानबिन गर्नुपर्ने जिम्मेवार निकायहरू राजनीतिक संरक्षणमा मौन बस्दा न्याय खोज्ने नागरिक नै दण्डित भइरहेको सेवा सहयोग आज संस्थाका अध्यक्ष विशाल राज महतले बताएका छन्।

अध्यक्ष महतले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको धारणा अनुसार फोहोर व्यवस्थापनको ठेक्का पाएको कम्पनीले उपमहानगरपालिकालाई बुझाउने राजस्व अत्यन्त न्यून रहेको छ भने जनताबाट भने अस्वाभाविक रूपमा बढी शुल्क असुली भइरहेको छ। यो अवस्था स्पष्ट रूपमा राजस्व चुहावट र संस्थागत लुटको संकेत भएको उनको भनाइ छ।

उनका अनुसार डम्पिङ साइडमा बर्सेनि नियोजित रूपमा लगाइने आगोबाट निस्कने विषालु धुवाँले हेटौंडाबासीको स्वास्थ्यमा गम्भीर संकट उत्पन्न गरिरहेको छ। श्वासप्रश्वाससम्बन्धी समस्या बढ्दै गएको र दीर्घकालीन स्वास्थ्य जोखिम सिर्जना भएकोप्रति उनले चिन्ता व्यक्त गरेका छन्।

यस विषयमा आफूहरूले पटक–पटक विरोध गर्दै आएको उल्लेख गर्दै अध्यक्ष महतले १६ वर्षदेखि सेवा दिँदै आएको ग्रीन एण्ड क्लिन सिटी सर्भिस प्रा.लि. सँगको सम्झौता २०८२ मंसिर मसान्तमै सकिनुपर्ने स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै पनि २०८२ चैतसम्म शुल्क असुली गर्न दिने निर्णय पूर्ण रूपमा गैरकानुनी र जनहितविपरीत रहेको बताएका छन्।

उनका अनुसार यस्तो निर्णय राजनीतिक मिलेमतो र नाफामुखी स्वार्थबाट प्रेरित भएको देखिन्छ। हेटौंडा उपमहानगरपालिकाले सेवामुखी व्यवस्थापनको सट्टा नाफामुखी संस्थालाई संरक्षण गरेर जनताको ढाड सेक्ने काम गरिरहेको आरोप पनि उनले लगाएका छन्।

अध्यक्ष महतले जनतासँग अग्रिम रूपमा उठाइएको रकम तत्काल फिर्ता गर्न र सम्बन्धित कम्पनीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्। साथै, यदि तुरुन्त सुधार, छानबिन र कारबाही प्रक्रिया अघि नबढाइएमा यस प्रकरणमा उपमहानगरपालिकाको प्रत्यक्ष मिलेमतो रहेको ठहर गर्दै संघर्षलाई अझ सशक्त बनाइने स्पष्ट चेतावनी दिएका छन्।