मिजार समाज नेपालको पूर्ण बैठक तथा सम्मान कार्यक्रम मनहरीमा सम्पन्न

Image

हेटौंडा/ मिजार समाज नेपालको आयोजनामा पूर्ण बैठक तथा सम्मान कार्यक्रम मनहरी–९ रजैया स्थित अग्निहोत्र आश्रमको सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रमको अध्यक्षता मिजार समाज नेपाल, मकवानपुर जिल्लाका अध्यक्ष बलराम मङ्रातीले गर्नुभएको थियो।

सम्मान कार्यक्रम अन्तर्गत देउसी–भैलो कार्यक्रममा योगदान पुर्‍याउने १५ जना व्यक्तिहरूलाई सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो। साथै, मनहरी–५ निवासी लक्ष्मण मिजारले मिजार समाज मनहरीका लागि १० धुर जग्गा दान गरी उल्लेखनीय योगदान पुर्‍याउनुभएको अवसरमा उहाँलाई सम्मान पत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाई विशेष सम्मान गरिएको थियो।

प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले मिजार समुदायको सामाजिक एकता, पहिचान र विकासमा यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले गाउँपालिकाको अध्यक्षको हैसियतले मिजार समाजका लागि अभिभावकको रूपमा काम गर्ने, समुदायसँग सम्बन्धित समस्याहरू समाधानमा निरन्तर लाग्ने तथा मिजार समाजका लागि घर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण अतिथि, सहभागी तथा सहयोगीहरूप्रति मिजार समाज नेपालले आभार व्यक्त गरेको छ।