हेटौंडा / बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले शिक्षा, स्वास्थ्य र रोजगारीलाई राज्यको प्रमुख प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताएका छन्।
सोमबार नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा हेटौंडामा सम्पन्न राष्ट्रिय जनसङ्ख्या नीति २०८२ को सार्वजनिकीकरण तथा अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै मन्त्री थापाले संघीय, प्रदेश तथा स्थानीय तहका सरकारले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखे पनि युवालाई पर्याप्त रोजगारी दिन नसकेको स्वीकार गरे।
स्वदेशमै रोजगारीको अवसर नहुँदा करिब २२ लाखभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीमा जान बाध्य भएको उल्लेख गर्दै उनले युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने विषयलाई तीनै तहका सरकारले प्राथमिकतामा राखेमा विदेश पलायन रोक्न सकिने बताए। यसका लागि राष्ट्रिय जनसङ्ख्या नीतिले महत्त्वपूर्ण मार्गदर्शन गर्ने उनको भनाइ थियो।
मन्त्री थापाले देशमा सन्तुलित विकास नहुँदा राज्यको स्रोतको प्रभावकारी उपयोग हुन नसकेको उल्लेख गर्दै कतिपय स्थानमा सामुदायिक भवन र विद्यालय निर्माण भए पनि गाउँ रित्तिएको उदाहरण प्रस्तुत गरे। यसले स्रोतको दुरुपयोग भएको स्पष्ट देखिने उनले बताए।
त्यसैगरी, सहरीकरण बढी भएका क्षेत्रमा भौतिक संरचना तथा पूर्वाधारको बढ्दो माग पूरा गर्न जनप्रतिनिधिलाई थप चुनौती बढेको मन्त्री थापाको भनाइ थियो।
कार्यक्रम नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वय तथा सहकार्य रहेको थियो भने प्राविधिक सहयोग UN Migration (IOM) ले गरेको थियो।

















