पेट्रोल र डिजेलको मूल्य घट्यो, एलपी ग्यासको मूल्य यथावत

Image

हेटौंडा / नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य घटाएको छ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिले निर्णय गर्दै पेट्रोल, डिजेल तथा हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको हो।

निगमका अनुसार पेट्रोलमा प्रति लिटर रु. ४, डिजेल/मट्टितेलमा प्रति लिटर रु. ५ र आन्तरिक हवाई इन्धनमा प्रति लिटर रु. ६ ले मूल्य घटाइएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेकइभन पोइन्टमा मूल्य कायम गरिएको छ।

नयाँ मूल्यसूचीअनुसार डिपो तथा कार्यालयदेखि १५ किलोमिटरसम्मका क्षेत्रमा पेट्रोलको खुद्रा मूल्य पहिलो वर्गमा रु. १५६.५०, दोस्रो वर्गमा रु. १५८ र तेस्रो वर्गमा रु. १५९ प्रति लिटर कायम गरिएको छ। त्यस्तै, डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा रु. १३४.५०, दोस्रो वर्गमा रु. १३६ र तेस्रो वर्गमा रु. १३७ प्रति लिटर तोकिएको छ।

आन्तरिक हवाई इन्धनको मूल्य काठमाडौंका लागि प्रति लिटर रु. १२८ कायम गरिएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर ९७३, पोखराका लागि ७७१ र भैरहवाका लागि ७५९ निर्धारण गरिएको छ।

यद्यपि एलपी ग्यासको खरिद मूल्य प्रति सिलिन्डर रु. १००.३५ ले बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले स्पष्ट पारेको छ।

निगमले सहजता, शुद्धता र पारदर्शितालाई आफ्नो प्रतिवद्धता भएको उल्लेख गर्दै मूल्य समायोजनले उपभोक्तालाई प्रत्यक्ष राहत पुग्ने विश्वास व्यक्त गरेको छ।