हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हालै सिराहामा आयोजित कार्यक्रममा सहभागी हुन निजी खर्चमै हेलिकप्टर प्रयोग गरेको विषयलाई लिएर फैलाइएको भ्रमप्रति मुख्यमन्त्रीको स्वकीय सचिवालयले आपत्ति जनाएको छ।
स्वकीय सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार मुख्यमन्त्री बानियाँले पदभार ग्रहण गरेलगत्तै प्रदेश सरकारको खर्च कटौती गर्दै आर्थिक मितव्ययिता र पारदर्शिता अपनाउँदै आउनु भएको छ। उहाँले सरकारी निवासदेखि सवारी साधनको इन्धन खर्चसमेत निजी स्रोतबाट व्यहोर्दै आउनु भएको सचिवालयले जनाएको छ। साथै मुख्यमन्त्रीको सचिवालयले हालसम्म कुनै पनि भ्रमण भत्ता नलिई काम गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ।
सचिवालयका अनुसार मुख्यमन्त्री बानियाँले आफ्नो सुविधाबापत प्राप्त हुने रकमबाट विपन्न परिवारका लागि घर निर्माण गरिदिने घोषणा अनुरूप मनहरी र कैलाश गाउँपालिकामा दुई विपन्न परिवारको घर निर्माण गरी हस्तान्तरण गरिसक्नु भएको छ भने राक्सिराङ गाउँपालिकामा एक विपन्न परिवारको घर निर्माण कार्य हाल निर्माणाधीन अवस्थामा रहेको छ।
विज्ञप्तिमा जनाइएअनुसार विहीबार मुख्यमन्त्री बानियाँ एकै दिन सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आयोजित छैटौँ जलवायु सम्मेलन र त्यसपछि सिराहामा आयोजित पार्टी कार्यक्रमका लागि सहभागी हुनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको थियो। समय अभाव र सडक मार्गबाट यात्रा गर्न असम्भव भएपछि उहाँले पूर्णतः निजी खर्चमा हेलिकप्टर प्रयोग गर्नु भएको सचिवालयको स्पष्टोक्ति छ।
यस विषयलाई लिएर केही व्यक्ति तथा समूहले सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत भ्रमपूर्ण सन्देश फैलाउँदै चरित्रहत्या गर्ने प्रयास गरेको भन्दै सचिवालयले आपत्ति जनाएको छ। विज्ञप्तिमा उक्त यात्राका क्रममा कुनै पनि सरकारी कोषको दुरुपयोग नभएको स्पष्ट गरिएको छ।
मुख्यमन्त्री बानियाँ सरकारी कोषको दुरुपयोग हुन नदिन सधैं सचेत रहेको उल्लेख गर्दै सचिवालयले सामाजिक सञ्जालमा भ्रामक सामग्रीको प्रचार–प्रसार गर्नु साइबर अपराध हुने भएकाले यस्ता गतिविधिबाट टाढा रहन सबैमा अनुरोध गरेको छ। साथै सञ्चार माध्यमहरूलाई पनि सत्य–तथ्यको पुष्टि गरेर मात्रै समाचार प्रकाशन गर्न आग्रह गरिएको छ।

















