५० करोडको धुलो दूध कारखाना अलपत्र, किसान र करदातामा विश्वासघात : विशाल राज महत

Image

हेटौंडा/ करिब ५० करोड रुपैयाँ सार्वजनिक लगानीमा निर्माण गरिएको हेटौँडा धुलो दूध कारखाना निर्माण सम्पन्न भई परीक्षण उत्पादनसमेत भइसकेको वर्षौँ बितिसक्दा पनि सञ्चालनमा नआउनु प्रदेश सरकारको निर्णयहीनता र लापरबाहीको प्रतीक बनेको छ। कारखाना नचल्दा दूध उत्पादनमा संलग्न किसान प्रत्यक्ष रूपमा प्रभावित भएका छन् भने ठूलो सार्वजनिक लगानी प्रयोगविहीन अवस्थामा थन्किएको छ।

सेवा सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै तयार अवस्थामा रहेको परियोजना अलपत्र राखिनु करदाताको पैसामाथिको दुरुपयोग र किसानप्रतिको अवहेलना भएको बताएका छन्। उनका अनुसार मन्त्री फेरिनेबित्तिकै योजना र प्राथमिकता बदलिने तर निर्णय नहुने प्रवृत्तिले प्रदेश सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएको छ।

महतले सञ्चालन मोडेल, व्यवस्थापन संरचना र जिम्मेवारी स्पष्ट नगर्दा कारखाना वर्षौँदेखि प्रयोगविहीन बनेको उल्लेख गरेका छन्। अब पनि तत्काल निर्णय नलिए यसलाई सार्वजनिक सम्पत्तिमाथिको गम्भीर अपराधका रूपमा लिनुपर्ने उनको चेतावनी छ।

उनले कारखाना सञ्चालनका लागि स्पष्ट समयसीमासहित ठोस निर्णय गर्न सरकारसँग आग्रह गरेका छन्। साथै, हालसम्म भएको ढिलाइ, लागत वृद्धि र निर्णय प्रक्रियामा देखिएको कमजोरीका लागि जिम्मेवार पदाधिकारीको उत्तरदायित्व तोकिनु पर्ने र सम्पूर्ण विवरण सार्वजनिक गरिनु पर्ने माग पनि गरेका छन्।

स्थानीय किसान, उपभोक्ता र करदाताको चासो जोडिएको यो परियोजनाबारे सरकारको स्पष्ट धारणा र तत्काल कदम नआए सार्वजनिक लगानीप्रति जनविश्वास थप कमजोर हुने सरोकारवालाहरूको भनाइ छ।