हेटौंडा / इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागू औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
मिति २०८२/०९/१८ गते राति करिब २०:०० बजेको समयमा जिल्ला मकवानपुर, राक्सिराङ गाउँपालिका–८ स्थित युक्ती खोलाको किनारतर्फ पिठ्युँमा भारी बोकी हिँडिरहेका व्यक्तिहरूलाई शंका लागि रितपूर्वक खानतलासी गर्दा उनीहरूबाट प्रतिबन्धित लागू औषध गाँजा बरामद गरिएको हो।
खानतलासीका क्रममा उनीहरूले बोकी ल्याएको बोराभित्र ६ वटा पोकामा राखिएको जम्मा ६६ किलो १० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा जिल्ला मकवानपुर, राक्सिराङ गाउँपालिका–८ क्याङराङ बस्ने वर्ष ४१ का मनिकलाल प्रजा, वर्ष १९ का दिपक भन्ने थोमा प्रजा र वर्ष १९ का सागर तामाङ रहेका छन्। बरामद गरिएको गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

















