हेटौंडा / हेटौंडा उपमहानगरपालिका–१३, ठुलोथलीमा रहेको कालिका आधारभूत विद्यालयमा बालबालिकाले पढाइ छोड्न थालेको विषय बिभिन्न संञ्चार माध्यममा प्रसारित भएपछि यसले स्थानीय स्तरमा तरंग सिर्जना गरेको छ।
समाचार सार्वजनिक भएसँगै सेवा सहयोग र आवाजमा हामी मकवानपुरका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले सामाजिक सञ्जाल फेसबुकमार्फत कडा प्रतिक्रिया जनाउँदै उपमहानगरपालिकाको निर्णायक तहको ध्यान नजानु गम्भीर विषय भएको बताएका छन्। उनले बिना आधार गरिएको ‘बालमैत्री स्थानीय तह’को घोषणा व्यवहारमा लागू नभई कागजी घोषणामा मात्र सीमित भएको आरोप लगाएका छन्।
“हामीले यस विषयमा पटक–पटक खबरदारी गर्दै आएका छौं। तर निर्णय गर्न सक्ने निकायले जिम्मेवारी नलिएपछि यस्तो अवस्था आएको हो,” अध्यक्ष महतले उल्लेख गरेका छन्। उनका अनुसार राज्य संरचना हुँदाहुँदै पनि सरकारी विद्यालय जोगाउन नागरिक स्वयं लाग्नुपर्ने अवस्था आउनु दुःखद र चिन्ताजनक छ।
उनले देश समग्र रूपमा भ्रष्टाचारको दलदलमा फसेको र त्यसको प्रत्यक्ष असर शिक्षा जस्तो संवेदनशील क्षेत्रमा देखिन थालेको पनि बताएका छन्। सम्बन्धित निकायले समयमै ध्यान नदिए यस्ता घटना दोहोरिरहने चेतावनी समेत उनले दिएका छन्।
कालिका आधारभूत विद्यालयमा देखिएको विद्यार्थी पलायनको समस्याप्रति स्थानीय बासिन्दा तथा सामाजिक संघसंस्थाहरूले गम्भीर चासो व्यक्त गर्दै उपमहानगरपालिकासँग तत्काल सुधारका कदम चाल्न माग गरेका छन्।

















