डम्पिङ साइटमा पुनः आगलागी, बारम्बार आगलागी हुँदा पनि किन मौन छ स्थानीय सरकार? विशाल राज महत

Image

हेटौँडा । आज २०८२ साल पौष २१ गते हेटौँडाको डम्पिङ साइटमा पुनः आगलागी भएको छ। यो कुनै आकस्मिक घटना होइन, न त पहिलो पटक नै हो। पटक–पटक दोहोरिँदै आएको यो आगलागी संस्थागत लापरबाही र गैरजिम्मेवारीको भद्दा उदाहरण बनेको छ।
प्रश्न उठ्छ— यति पटक आगलागी हुँदा पनि किन सम्बन्धित ठेकेदारमाथि कारबाही हुँदैन? के यो केवल असक्षमता हो, कि कुनै ‘सेटिङ’ ले संरक्षण दिइरहेको छ?

डम्पिङ साइटको आगलागीले फोहोर मात्र जल्दैन, जनताको स्वास्थ्य, वातावरण र भविष्य पनि जलिरहेको छ। निस्कने धुवाँका कारण बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरू गम्भीर रूपमा प्रभावित छन्। तर यति गम्भीर विषयमा पनि स्थानीय सरकार मौन देखिन्छ।

फोहोर व्यवस्थापनका विभिन्न पाटोबारे छलफल गर्न हामी जनप्रतिनिधि मेयर मिना लामासँग भेट गर्न गएका थियौँ। घरमा बसेको निजी व्यक्तिसँग होइन, जिम्मेवारी लिएको जनप्रतिनिधिसँग ध्यानाकर्षण गराउन गएका थियौँ। तर भेटबाट ठोस निर्णय होइन, असहाय अभिव्यक्ति मात्र सुनियो।

मेयरको भनाइ थियो— “मलाई मात्र किन यस्तो प्रेसर? ध्यानाकर्षण पत्र नै पत्र आउँछन्। वडा अध्यक्षहरूको समर्थन छैन। बैठकमा उठेर हिँड्नेहरू छन्। सबैले मलाई अप्ठ्यारोमा पार्न खोजिरहेका छन्।”
यो अभिव्यक्ति समस्या समाधानको होइन, जिम्मेवारीबाट पन्छिन खोजेको संकेत हो। जनताको मत लिएर निर्वाचित व्यक्तिले “म असहाय छु” भन्ने छुट पाउँदैन। जिम्मेवारी लिएको व्यक्तिलाई नै प्रश्न गरिन्छ, उही व्यक्तिसँग जवाफ खोजिन्छ र उही व्यक्तिबाट निर्णय अपेक्षा गरिन्छ। यही नै लोकतन्त्र हो।

यदि दबाब झेल्न सकिँदैन भने,यदि निर्णय लिन सकिँदैन भने,यदि जनताको स्वास्थ्य जोगाउन सकिँदैन भने—राजीनामा दिन सकिन्छ। घर बसे पनि हुन्छ। त्यसपछि कसैले प्रेसर दिन आउँदैन। तर जनताको मत खाएर पद ओगटेर, जनताको स्वास्थ्यमा असर पर्दा “म केही गर्न सक्दिन” भन्नु भनेको जनताको मतको अपमान हो।

अब हामीलाई भावनात्मक जवाफ चाहिएको छैन, पीडित हुने कथा पनि चाहिएको छैन। हामीलाई चाहिएको छ— ठोस निर्णय, ठेकेदारमाथि कारबाही र फोहोर व्यवस्थापनको स्पष्ट योजना। यदि त्यो सम्भव छैन भने, असफल भएको औपचारिक घोषणा।

जनताको स्वास्थ्यमा असर पर्दा केही गर्न नसक्ने मेयर कसको लागि हो? यो प्रश्न आज प्रत्येक नागरिकले सोधिरहेको छ।
अब निर्णय चाहिन्छ— जनताको माग सम्बोधन हुन्छ कि असफलताको स्वीकारोक्ति? यो जनताको प्रश्न हो। बिशाल राज महतले आफ्नो फेसबुक पेजमा यसरी लेखेका छन्।