हेटौंडा / डिभिजन वन कार्यालय राप्तीको आयोजना तथा राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत कैलाशमा सव–डिभिजन स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ।
कैलाश गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता डिभिजन वन कार्यालय राप्तीका प्रमुख हेमबहादुर थापाले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी उपस्थित थिए।
उपाध्यक्ष मल्लले कैलाशको भूगोल, वातावरण र वर्तमान अवस्थालाई ध्यानमा राखेर योजनाहरू तयार गर्नुपर्ने बताउँदै उपभोक्ता समितिहरूलाई परिचालन गरी वन क्षेत्रको काम गर्नुपर्नेमा जोड दिनुभयो। उनले प्रत्यक्ष वन समूहका समितिहरूलाई योजना निर्माणमा समेट्दा कार्यान्वयन सहज हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा डिभिजन वन कार्यालय राप्तीका प्रमुख थापाले आफ्नो कार्यक्षेत्रभित्र ८ वटा सव–डिभिजन कार्यालय रहेको जानकारी दिँदै सामुदायिक, धार्मिक, कवुलियत तथा निजी वनहरूमा योजनाहरू बनाउँदै अगाडि बढ्ने बताउनुभयो। उहाँले वन चोरी र वन्यजन्तु सिकार बढ्दो अवस्थामा रहेकाले पालिकासँगको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
सव–डिभिजन वन कार्यालय कैलाशका वन अधिकृत वीरबहादुर योञ्जनले योजना तर्जुमाको उद्देश्य, डिभिजनबाट सञ्चालित मुख्य कार्यक्रम तथा आगामी आर्थिक वर्ष २०८३/०८४ का सम्भावित कार्यक्रमबारे जानकारी गराउनुभयो।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समीर जोशी, योजना शाखा प्रमुख विक्रमबहादुर थिङ लगायत विभिन्न शाखाका प्रमुख र सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कैलाशमा ३ कवुलियत वनसहित २४ वटा सामुदायिक वन रहेका छन्। गोष्ठीमा विभिन्न समूह बनाएर वनसँग सम्बन्धित योजनाहरू तय गरिएको छ।

















