हेटौंडा/ कैलाश गाउँपालिकामा अपाङ्गताको क्षेत्रमा विगत तीन वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको सुन्दरढोका साथी सेवाले सामाजिक परीक्षण सम्पन्न गरी परियोजना हस्तान्तरण गरेको छ।
मंगलबार आयोजित एक कार्यक्रममा संस्थाकी कार्यकारी निर्देशक विजता अधिकारीले गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानलाई सामाजिक परीक्षणसम्बन्धी प्रतिवेदन तथा परियोजनाका दस्तावेज हस्तान्तरण गरेकी हुन्।
दस्तावेज ग्रहणपछि अध्यक्ष मुक्तानले अपाङ्गता तथा जीविकोपार्जनको क्षेत्रमा गरिएको कार्यप्रति धन्यवाद व्यक्त गर्दै प्रस्तुत सामाजिक परीक्षण प्रतिवेदनले काम प्रभावकारी रूपमा सम्पन्न भएको स्पष्ट देखाएको बताए। उनले कार्यक्रमबाट सकारात्मक नतिजा प्राप्त हुने र त्यस्ता सफल अभ्यासलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। साथै, स्थानीय सरकारले अपाङ्गताको सवालमा निरन्तर काम गर्दै आएको र यस क्षेत्रका नागरिकप्रति समाजको दृष्टिकोण सकारात्मक बनाउन कार्यक्रमले ठूलो योगदान पुर्याएको उल्लेख गरे।
अध्यक्ष मुक्तानले विभिन्न संघ–संस्थासँगको साझेदारीमा विभिन्न क्षेत्रमा काम भइरहेको बताउँदै अब ललितपुर महानगरपालिका, कैलाश गाउँपालिका र सुन्दरढोका साथी सेवाको सहकार्यमा अपाङ्गमैत्री छात्रावास निर्माण गरिने जानकारी दिए।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले सुन्दरढोकाले गरेका कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्य जारी रहने बताए। उनले पालिकाभित्र अपाङ्गता परिचयपत्र वितरण भइरहेको उल्लेख गर्दै यसले सेवा–सुविधा प्राप्तिमा सहजता ल्याएको बताए। साथै, अपाङ्गताको क्षेत्रमा जनचेतना अझै बढाउनुपर्ने आवश्यकता औंल्याए।
संस्थाकी कार्यकारी निर्देशक विजता अधिकारीले भौगोलिक विकटताका चुनौतीबीच पनि तीन चरणमा कार्यक्रम सञ्चालन गरिएको बताइन्। अपाङ्गता भएका नागरिकलाई घरमै उपचार सेवा तथा आवश्यक सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिँदै, अपाङ्गता भएका व्यक्ति र उनीहरूको परिवारका सदस्यलाई सीपमूलक तालिम प्रदान गरी जीविकोपार्जनका क्षेत्रमा काम गरिएको जानकारी दिइन्। उनका अनुसार उपचार सेवासँगै कुखुरा तथा बाख्रापालन, साना पसल सञ्चालन, ट्र्याक्टर प्रयोग, बाँसबाट निर्माण सामग्री उत्पादन, ब्युटीपार्लर, सैलुन, टेलरिङलगायत क्षेत्रमा सहयोग गरिएको छ।
कार्यक्रममा परियोजना संयोजक राम पार्कीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। वडा नं. ७ का वडाध्यक्ष उदासकुमार भोलन, महिला तथा बालबालिका शाखा प्रमुख रमिला सापकोटा, अपाङ्ग सहयोग सञ्जाल कैलाशका अध्यक्ष सुदीप जिम्बालगायतले आ–आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेल, वडा नं. १ का वडाध्यक्ष तेजबहादुर ब्लोन, वडा नं. ९ का वडाध्यक्ष भुवनसिंह घलान, विभिन्न शाखा प्रमुख, संस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

















