हेटौंडा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) मकवानपुरका जिल्ला नेता तथा सामाजिक अभियन्ता विशाल राज महतले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्।
विभिन्न क्षेत्रबाट आएका सल्लाह, सुझाव तथा आग्रहबीच महतले आफ्नो निर्णय सार्वजनिक गर्दै जनताको विश्वासप्रति आभार व्यक्त गरेका छन्। पछिल्ला दिनहरूमा फोन, सन्देश, सामाजिक सञ्जाल तथा प्रत्यक्ष भेटघाटमार्फत प्राप्त समर्थनले आफूमा अहंकार नभई थप जिम्मेवारीबोध गराएको उनको भनाइ छ।
महतका अनुसार मकवानपुर क्षेत्र नं. १ का सर्वसाधारणले देखाएको सद्भाव क्षणिक उत्साह नभई लामो समयदेखि आफूले निर्वाह गर्दै आएको जनपक्षीय भूमिकाको मूल्यांकन हो। तथापि, प्रतिनिधि सभामा उम्मेदवारी नदिने निर्णय जनताप्रतिको जिम्मेवारीबाट पन्छिनु नभई स्थानीय तहमा समाधान पर्खिरहेका समस्या र मुद्दालाई प्राथमिकतामा राखेर गरिएको उनले स्पष्ट पारे।
“अहिल्यै राष्ट्रिय राजनीतिमा प्रवेश गर्नु भन्दा स्थानीय स्तरमै जनतासँग बसेर काम गर्ने समय आएको छ,” महतले भने,
“समस्या धेरै छन्, आवाजविहीन पीडा धेरै छन्। ती चुनौतीहरूको बीचमा म अझ प्रभावकारी रूपमा काम गर्न सक्छु भन्ने विश्वासले नै यो निर्णय गरेको हुँ।”
उनले राजनीतिलाई केवल निर्वाचन जित्ने प्रक्रियामा सीमित नभई जनताको दुःख–सुखसँग जोडिने इमानदार यात्राका रूपमा परिभाषित गरे। पद वा शक्ति नहुँदा पनि समाजमा सक्रिय रूपमा उपस्थित रहने प्रतिबद्धता उनले व्यक्त गरे।
“तपाईंहरूको विश्वास नै मेरो शक्ति हो, तपाईंहरूको अपेक्षा नै मेरो जिम्मेवारी,” महतले थपे,
“म समाजकै बीचमा छु, र हेरचाह तथा खबरदारीको यो अभियान निरन्तर जारी रहनेछ।”
समाजसेवा, पारदर्शिता र जनउत्तरदायित्वलाई मूल मूल्य मानेर अघि बढिरहेका महतले निर्वाचनमा उम्मेदवारी दिने चर्चा चलिरहेका बेला स्पष्ट निर्णय सार्वजनिक गर्दै आफू पदलोभी नभई जनउत्तरदायी नेतृत्वको प्रतिनिधि भएको सन्देश दिएका छन्।

















