हेटौंडा/ साहित्य सङ्गम मकवानपुरको ३९ औँ वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो राष्ट्रिय पर्याकविता उत्सव–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा देशभरका कवि तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी कविहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले कविता नेपाली साहित्यको सबैभन्दा पुरानो र प्रभावशाली विधा भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “कविताले जीवन, समाज, देश र भविष्य देखाउन सक्नुपर्छ।”
कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदानको स्मरण गर्दै उहाँका कृतिहरू आज पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गरियो। देवकोटाको प्रसिद्ध कविता ‘कुन मन्दिरमा जान्छौ यात्री…’ उद्धृत गर्दै यसले नेपाली समाजको चेतनामा ठूलो प्रभाव पारेको नगर प्रमुख लामाले बताउनुभयो।
त्यसैगरी कालजयी स्रष्टा भीम विरागको योगदानको प्रशंसा गर्दै, नारायणगोपालको स्वरमा उनका गीतहरू अमर बनेको धारणा व्यक्त गर्नुभयो। मकवानपुर जिल्लालाई साहित्यिक केन्द्रका रूपमा स्थापित गर्न योगदान पुर्याउने स्रष्टाहरू — डा. निमेष निखिल, साम्भा ढकाल, आर.आर. चौलागाईं, हेग्रिभ आचार्य, आर.सी. रिजाल, युग पाठक, छवि अनित्य, डा. तारालाल श्रेष्ठ, अनिता न्यौपाने, शान्तिप्रिय बन्धना लगायतप्रति सम्मान व्यक्त गरिएको थियो।
कार्यक्रममा डा. निमेषले साझा गर्नुभएको ठाकुर बेलवासेको कविता ‘सत्य र प्राप्तिको भ्रम’ वाचन गरिएको थियो। उक्त कविताले जीवन, उपलब्धि र भ्रमबारे गहिरो सन्देश दिएको सहभागीहरूको प्रतिक्रिया थियो।
वक्ताहरूले पछिल्लो समय एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिबाट सिर्जनात्मक लेखन हुन थालेको सन्दर्भ उठाउँदै यसले साहित्य क्षेत्रमा चुनौती थपिएको बताउनुभयो। सामाजिक सञ्जालको लोकप्रियताले लेखक बन्ने होड बढेको र यसले साहित्यको गुणस्तरमा असर पार्न सक्ने चिन्ता पनि व्यक्त गरिएको थियो। लेखन साधना भएकाले निरन्तर अभ्यास आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो।
पर्यावरणीय संकट बढिरहेको वर्तमान अवस्थामा पर्यावरण विषयमा आधारित कविता प्रतियोगिता आयोजना हुनु अत्यन्त सान्दर्भिक रहेको भन्दै यस्तो कार्यक्रम नेपाली साहित्यका लागि उपलब्धि भएको नगर प्रमुख लामाको भनाइ थियो।
कार्यक्रममा सहभागी कविहरूका कविता साधनाले खारिएका तथा भावनात्मक रूपमा सशक्त रहेको प्रतिक्रिया दिँदै आयोजक साहित्य सङ्गम मकवानपुरलाई यति महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरिएको गर्नु भयो।
कार्यक्रमकै क्रममा हेटौँडामा सडक–सार्वजनिक निःशुल्क पुस्तकालय निर्माण गर्ने योजना समेत सार्वजनिक गर्दै नगर प्रमुख लामाले यसलाई चाँडै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

















