भावनात्मक तस्बिर प्रशंसनीय तर नेतृत्व जिम्मेवारीको गहिरो समीक्षा आवश्यक : विशाल राज महत

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिकाकी मेयरले मृत्युको मुखबाट जोगिएकी एक अनाथ शिशुलाई काखमा लिएको तस्बिर सामाजिक सञ्जालमा व्यापक चर्चा र प्रशंसा पाउँदै गर्दा सामाजिक अभियन्ता तथा सेवा सहयोग र आवाज संस्थाका अध्यक्ष विशाल राज महतले उक्त तस्बिरलाई सम्मान गर्दै नेतृत्वको दायित्वबारे गम्भीर प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै उनले मेयरको कदमलाई मानवीय र संवेदनशील भन्दै प्रशंसा गरेका छन्। तस्बिरमा एक जनप्रतिनिधिको जिम्मेवारीसँगै आमाको ममता झल्किएको उल्लेख गर्दै उनले मेयर धन्यवादको पात्र भएको बताएका छन्। तर उनले नेतृत्व केवल भावनात्मक क्षणमा सीमित हुन नहुने स्पष्ट पारेका छन्।

महतका अनुसार, हेटौंडा उपमहानगरपालिकाभित्र हजारौँ बालबालिका, गर्भवती महिला र सर्वसाधारण नागरिकको अभिभावकत्व वहन गर्नु नै मेयरको प्रमुख कर्तव्य हो। उनले हेटौंडाको डम्पिङ साइटमा हरेक वर्ष लाग्ने आगलागीबाट उत्पन्न विषालु धुवाँले जनस्वास्थ्यमा गम्भीर असर पारिरहे पनि स्थानीय सरकारको प्रभावकारी पहल नदेखिएकोप्रति चिन्ता व्यक्त गरेका छन्।

त्यसैगरी, हेटौंडा–१७ मा रहेको सिवम् सिमेन्ट उद्योगबाट निस्कने PM2.5 र PM10 धुलोका कारण २५० भन्दा बढी बालबालिका प्रत्यक्ष रूपमा स्वास्थ्य जोखिममा परेको र पूरै गाउँ विस्थापनको अवस्थामा पुगेको विषयमा समेत स्थानीय तहको भूमिका कमजोर देखिएको उनले बताएका छन्।

नगर क्षेत्रभित्रका कतिपय विद्यालयमा नाङ्गो खुट्टा, फाटेको लुगा र झोला बिना पढ्न बाध्य बालबालिका तथा आर्थिक अभावका कारण विद्यालय छोड्न बाध्य विद्यार्थीहरूप्रति राज्यको संवेदनशीलता नदेखिनु गम्भीर चिन्ताको विषय भएको उनको भनाइ छ।

जनताले दिएको मत, विश्वास र आशाको कदर गर्दै जनताको पक्षमा दृढताका साथ उभिनु जनप्रतिनिधिको कर्तव्य भएको उल्लेख गर्दै उनले यस्ता विषयमा आवाज उठाउँदा विरोधको रूपमा बुझिनु र

जवाफमा लाचारपन देखिनु दुःखद भएको बताएका छन्।
महिला मेयर पाएको अवसरलाई ऐतिहासिक उपलब्धिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै महतले महिला नेतृत्व सक्षम, संवेदनशील र निर्णायक हुन सक्छ भन्ने प्रमाणित गर्ने समय यही भएको बताएका छन्। अन्त्यमा उनले “यो विरोध होइन, कर्तव्यप्रति स्मरण हो” भन्दै समय अझै बाँकी रहेको र शुभेच्छा व्यक्त गरेका छन्।