प्रगति माविको स्वर्ण यात्रा: ५० वर्षको उपलब्धि उत्सवका साथ मनाइँदै

Image

हेटौंडा / हेटौंडा–९ मा अवस्थित प्रगति माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण जयन्ती महोत्सव भव्य रूपमा मनाउने तयारी गरेको छ। विद्यालयले पौष २६ देखि माघ ९ गतेसम्म चल्ने महोत्सवमार्फत शैक्षिक, सामाजिक तथा सांस्कृतिक योगदानलाई उत्सवका रूपमा प्रस्तुत गर्ने जनाएको छ।

वि.सं. २०२२ मा स्थापना भएको यस विद्यालयले पाँच दशकको शैक्षिक यात्रामा उल्लेखनीय योगदान दिएको भन्दै त्यसलाई स्मरणीय बनाउन विविध कार्यक्रमको आयोजना गरिएको विद्यालय प्रशासनले जानकारी दिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लामिछाने र प्रधानाध्यापक किशोर पराजुलीले जारी गरेको सूचनाअनुसार महोत्सवको औपचारिक उद्घाटन माघ ६ गते हुनेछ।

स्वर्ण जयन्तीको अवसरमा विद्यालयले दीर्घकालीन महत्वका संरचना निर्माण गर्ने योजना पनि अघि सारेको छ। यसअन्तर्गत स्वर्ण स्तम्भ निर्माण, संस्थापक प्रधानाध्यापक स्व. राधादेवी शाहज्यूको प्रतिमा स्थापना, स्मारिका प्रकाशन तथा विद्यालय गान सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ।

महोत्सवअन्तर्गत खेलकुद, साहित्य, शिक्षा र सामाजिक सेवालाई प्राथमिकता दिइएको छ। कार्यक्रम तालिकाअनुसार पौष २६ र २७ गते जिल्ला स्तरीय महिला शिक्षक भलिबल प्रतियोगिता, माघ २ गते छात्रा भलिबल, माघ ३ गते शिक्षक सम्मेलन तथा माघ ४ गते विभिन्न अतिरिक्त क्रियाकलाप आयोजना हुनेछन्।

त्यस्तै, माघ ५ गते विद्यार्थीहरूको साइकल यात्रा, मानवसेवा आश्रमलाई सहयोग तथा सरसफाइ अभियान सञ्चालन गरिनेछ। माघ ६ गते उद्घाटन समारोहसँगै स्वर्ण स्तम्भ अनावरण, स्मारिका विमोचन, शैक्षिक प्रदर्शनी, सम्मान तथा सांस्कृतिक कार्यक्रम हुनेछ।

माघ ७ गते साहित्य सम्मेलन, माघ ८ गते अभिभावक–विद्यार्थी खेलकुद तथा पुरस्कार वितरण कार्यक्रम आयोजना हुनेछन् भने माघ ९ गते सरस्वती पूजा, प्रतिमा अनावरण र समापन समारोहसहित स्वर्ण जयन्ती महोत्सव सम्पन्न हुने विद्यालयले जनाएको छ।