रुदानेको दृष्टि र थाहा आन्दोलन: थाहा दिवस २०८२ मा सम्मान

Image

हेटौँडा/ थाहा– स्वर्गीय रुपचन्द्र बिष्ट (रुदाने) को ९२औँ जन्मजयन्तिको अवसरमा थाहा नगरपालिकामा थाहा दिवस २०८२ भव्य रूपमा मनाइएको छ। शिखरकोटस्थित उहाँको जन्मस्थल, विकास घरमा आयोजित कार्यक्रममा रुदानेको जनसुविधा र सामाजिक चेतनामा योगदानलाई स्मरण गरियो।

नगर उपप्रमुख भरत गोपालीले रुदानेलाई “सिर्फ राजनीतिक व्यक्तित्व नभई, जनचेतना र विकासप्रेमी व्यक्ति” को रूपमा स्मरण गर्दै उहाँका विचार आजको समाजमा पनि सन्दर्भपूर्ण र प्रेरणादायी रहेको बताउनुभयो। उहाँले रुदानेको दर्शनलाई राजनीतिक सीमाभन्दा पर राखेर सबै पक्षले आत्मसात गर्नु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। त्यसैगरी, रुदानेको स्मृतिमा घर्तीखोलामा संग्रहालय स्थापना गर्ने योजना घोषणा गरिएको छ।

कार्यक्रममा पत्रकारिता क्षेत्रमा लामो समय सक्रिय रहेकाहरूलाई सम्मान दिइएको थियो। सुरेश बिडारीलाई थाहा पत्रकारिता पुरस्कार २०८२ प्रदान गरियो भने शिक्षण क्षेत्रमा दीर्घ योगदान पुर्‍याएका पूर्व प्रधानाध्यापक सानोभाई कार्कीलाई तिर्थदास श्रेष्ठ स्मृति सामाजिक सम्मानबाट सम्मानित गरियो।

फरक सोच अभियानका अध्यक्ष यादवजंग रायमाझीले कार्यक्रमको उद्देश्य र महत्वलाई स्पष्ट पार्दै थाहा आन्दोलनले समाजमा ल्याएको सकारात्मक प्रभावबारे चर्चा गर्नुभयो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति उल्लेखनीय थियो। सहभागी वक्ताहरूले रुदानेको जीवन, दर्शन र थाहा आन्दोलनको योगदानबारे आफ्ना दृष्टिकोण राखेका थिए।

थाहा नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको पहलमा वडा नं। ३ र ४ का ३० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो। वार्षिक कार्यक्रमअनुसार उनीहरूलाई न्यानो ब्ल्याङ्केट, गल्बन्दी, थरमस र बेतको लौरो वितरण गरियो।

यसरी, थाहा दिवस २०८२ ले रुदानेको विचार, थाहा आन्दोलनको महत्व र सामाजिक उत्तरदायित्वको संदेश स्थानीय समुदायमा पुनः प्रवाह गरेको सहभागीहरूले औँल्याएका छन्।