हेटौंडा/ हेटौंडा–१२ आँपधाप क्षेत्रमा एक महिनाकी सुत्केरी महिलाको दुःखद निधनले सिङ्गो बस्तीलाई शोकमा डुबाएको छ। आमाको न्यानो काखमा हुर्कनुपर्ने एक महिनाको दूधेबालक आज आमाबिनाको जीवनमा प्रवेश गर्न बाध्य भएको छ।
काठमाडौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका–८ स्थायी घर भएकी ३७ वर्षीया मिलन स्याङ्तान हाल मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१२ भोर्लेस्थित माइती बुवा विष्णु स्याङ्तानको घरमा सुत्केरी बस्न आएकी थिइन्। एक महिनाअघि मात्र छोरा जन्माएकी उनी हाँसिखुसी जीवन बिताइरहेकी थिइन्।
तर अचानक घरबाट निस्किएपछि उनी सम्पर्कविहीन भइन्। परिवारजनले खोजीकार्य जारी राख्दा हिजो दिउँसो करिब १२ बजे माइती घरबाट करिब ३ किलोमिटर पश्चिमतर्फ पर्ने आँपधापस्थित राप्ती खोलामा पानीभित्र डुबेको अवस्थामा उनको शव फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।
सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको थियो। साँझ करिब ७ः३० बजे पोस्टमार्टमपछि मृतकका जेठाजु चिजबहादुर तामाङले शव बुझिलिएका छन्।
मिलनको असामयिक निधनले परिवार मात्र होइन, सिङ्गो टोल नै स्तब्ध बनेको छ। छिमेकीहरू भन्छन्, “उहाँ सधैँ हँसिलो स्वभावकी थिइन्, यस्तो घटना पत्याउनै गाह्रो छ।”
आज आँपधाप क्षेत्रमा शोकको मौनता छ, र एउटा दूधेबालक आमाको माया नपाई जीवनको कठोर यात्रामा अघि बढ्न बाध्य भएको छ।

















