बाघझोरा खोलामा पुल निर्माणका लागि १० करोड बजेट सुनिश्चित, छिट्टै ठेक्का प्रक्रिया अघि बढ्ने

Image

हेटौंडा / त्रिभुवन राजमार्ग अन्तर्गत भैसे–हेटौंडा सडक खण्डमा पर्ने बाघझोरा खहरे खोलाका कारण हरेक वर्ष हजारौँ यात्रुले भोग्दै आएको सास्तीको दीर्घकालीन समाधानका लागि पुल निर्माण प्रक्रिया अघि बढ्ने भएको छ।

उक्त क्षेत्रमा ओभरपास वा अन्डरपासमध्ये कुन संरचना उपयुक्त हुन्छ भन्ने विषयमा प्राविधिक अध्ययनसहित काम अघि बढाउन प्रतिनिधिसभा सदस्यको हैसियतले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली तथा तत्कालीन संघीय भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालसँग आवश्यक बजेट व्यवस्थापनका लागि पहल गरिएको जनाइएको छ।

प्रतिनिधिसभा विघटनपछिसमेत निरन्तर समन्वय र सहजीकरण जारी राखिएको र सोही प्रयासस्वरूप बाघझोरा खोलामा पुल निर्माणका लागि प्रारम्भिक रूपमा १० करोड रुपैयाँ बजेट स्रोत सुनिश्चित भएको जानकारी दिइएको छ।

संघीय भौतिक पूर्वाधार मन्त्रालयमार्फत केही हप्ताभित्र प्राविधिक अध्ययन सम्पन्न गरी निर्माण कार्य अगाडि बढाउन ठेक्का प्रक्रिया पनि चाँडै सुरु गरिने बताइएको छ।

पुल निर्माण सम्पन्न भएपछि त्रिभुवन राजमार्ग हुँदै देशका विभिन्न भागमा यात्रा गर्ने यात्रुहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। हाल थोरै वर्षा हुँदा समेत खहरे बाढीका कारण घण्टौँ सडक अवरुद्ध हुने समस्या रहेकोमा पुल निर्माणपछि त्यसको दीर्घकालीन समाधान हुने विश्वास व्यक्त गरिएको छ।

यस कार्यका लागि सहयोग पुर्‍याउने सम्पूर्ण मकवानपुरबासीप्रति हार्दिक आभारसमेत व्यक्त गरिएको छ।