हेटौंडा/ मकवानपुरको कैलाश गाउँपालिकाले आन्तरिक स्रोततर्फबाट २ करोड ५१ लाख रुपैयाँ थप गरी संशोधित बजेट पारित गरेको छ। बिहीबार बसेको १७ औँ गाउँसभाले उपाध्यक्ष बालकुमार मल्लले प्रस्तुत गरेको बजेट अध्यक्ष लोकबहादुर मुक्तानको प्रस्तावमा सर्वसम्मत रूपमा पारित गरेको हो।
संशोधित बजेटअनुसार गाउँपालिकाले चालुतर्फ ९ करोड ४२ लाख र पूँजीगततर्फ १५ करोड ४८ लाख गरी कुल २४ करोड ९१ लाख रुपैयाँ कार्यान्वयनमा लैजाने भएको छ। यसअघि गाउँपालिकाले ५४ करोड २९ लाख रुपैयाँ बजेट ल्याएको थियो। विशेष र सशर्त अनुदानतर्फ भने कुनै संशोधन गरिएको छैन।
संशोधन प्रक्रियामा १७ योजना कटौती, ४३ योजना थप, १४ योजनामा बजेट घटाइ र ४ योजनामा बजेट वृद्धि गरिएको छ।
गाउँसभामा आर्थिक कार्यविधि, बेरुजु फस्र्यौट, लेखा समिति गठन तथा गाउँसभा सचिवालयसम्बन्धी विभिन्न विधेयकहरू पनि प्रस्तुत गरिएका थिए।
चेली सहित विभिन्न क्षेत्रका व्यक्तिहरू सम्मानित
गाउँसभामा चेली प्रोत्साहन कार्यक्रमअन्तर्गत १२ कक्षा उत्तीर्णपछि २० वर्ष पुगेपछि विवाह गरेका ७ जना चेलीलाई जनही २० हजार रुपैयाँसहित सम्मान गरिएको छ।
त्यसैगरी स्वास्थ्य, प्रशासन, प्राविधिक, शिक्षा, सञ्चार, कृषि, उद्यम, निर्माण व्यवसाय र उपभोक्ता समितिमा योगदान पुर्याएका विभिन्न कर्मचारी तथा व्यक्तिहरूलाई नगदसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।

















