बागमती प्रदेशमा प्रहरीको सेवा क्षमता विस्तार, ३० नयाँ मोटरसाइकल हस्तान्तरण

Image

हेटौँडा / बागमती प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३० थान नयाँ मोटरसाइकल हस्तान्तरण गरेको छ। प्रदेशको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आयोजित कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश प्रहरी प्रमुख अरुण पौडेललाई मोटरसाइकलको चाबी प्रदान गरे।

प्रदेश सरकारले करिब ९७ लाख २० हजार रुपैयाँ लागतमा यी दुई पाङ्ग्रे सवारी साधन खरिद गरेको हो। राष्ट्रिय बोलपत्र प्रक्रियामार्फत प्रचलित कानुन र स्वीकृत मापदण्डअनुसार खरिद गरिएका मोटरसाइकल १६० सिसी क्षमताका, एफआई प्रविधि तथा एबिएस प्रणालीयुक्त छन्। यसले प्रहरीलाई छिटो परिचालन, तत्काल प्रतिक्रिया र नागरिकलाई सहज सेवा प्रवाहमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव बाबुराम अधिकारी, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक अरुण पौडेललगायतको उपस्थिति थियो। कार्यक्रम सञ्चालन प्रहरी निरीक्षक चूडाकुमारी खड्काले गरेकी थिइन्।

प्रदेश सरकारले आगामी दिनमा पनि सुरक्षालाई प्रविधिमैत्री र नागरिकमैत्री बनाउने उद्देश्यसहित आवश्यक स्रोत–साधन थप गर्दै जाने जनाएको छ।