हेटौँडा / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै मकवानपुर जिल्लामा प्रशासनिक तयारी तीव्र बनाइएको छ। निर्वाचन व्यवस्थापनलाई व्यवस्थित बनाउन हेटौँडा उपमहानगरपालिका–११, थानाभर्याङस्थित प्रादेशिक कृषि थोक बजारको भवनमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको छ।
जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार निर्वाचन क्षेत्र नम्बर १ र २ का लागि छुट्टाछुट्टै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो, जसले मतदान व्यवस्थापन, उम्मेदवार व्यवस्थापन, सुरक्षा समन्वय र मतदाता सहजीकरणमा भूमिका खेल्नेछ।
कार्यालय उद्घाटन कार्यक्रममा मुख्य निर्वाचन अधिकृत न्यायाधीश गीता श्रेष्ठ, जिल्ला न्यायाधिवक्ता देवेन्द्र आचार्य, बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी, हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटी लगायतको सहभागिता रहेको थियो।
यस जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन्। जसमा १ लाख ५३ हजार ३७६ महिला, १ लाख ६१ हजार ९५३ पुरुष र ५ जना अन्य मतदाता छन्। निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४३५ तथा क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन्।
मकवानपुरका १०२ वडामा १६७ मतदान स्थल र ३७४ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन जनशक्ति व्यवस्थापन, सुरक्षा संयन्त्र र प्राविधिक तयारीलाई प्राथमिकता दिइएको छ।

















