हेटौँडा/ हेटौँडा उपमहानगरपालिकाको आयोजनामा सञ्चालन गरिएको तेस्रो वडास्तरीय खेलकुद महोत्सव–२०८२ अन्तर्गत नगरस्तरीय छात्र भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
माघ २ र ३ गते हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगितामा कृष्ण आदर्श माध्यमिक विद्यालय, हेटौँडा–९ ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको छ। फाइनल खेलमा पराजित हुँदै ज्योति माध्यमिक विद्यालय, हेटौँडा–१८ उपविजेता बनेको हो।
प्रतियोगितामा नगरभित्रका १४ वटा विद्यालयका टिमहरूले सहभागिता जनाएका थिए। विद्यार्थीहरूमा खेलकुदको विकास, अनुशासन र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देलले जनकारी दिनुभयो।
कार्यक्रमको आयोजना हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को कार्यालय ले गरेको हो भने शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा–४ ले संयोजन गरेको थियो। प्रतियोगिताको व्यवस्थापन आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, हेटौँडा–४ ले गरेको थियो।
प्रतियोगिता सम्पन्न भएपछि अध्यक्ष सिग्देलले विजेता, उपविजेता तथा सहभागी सबै टिमहरूलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्नुभएको छ।

















