हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले प्रेस काउन्सिल नेपालका सदस्य शान्तराम बिडारीसंग छलफल गरेको छ ।
सदस्य बिडारीले देश निर्वाचनको संघारमा रहेकोले संचारमाध्यमले संवेदनशील भएर आफ्नो भूमिका निर्वाह गर्न अनुरोध गरे । निर्वाचन आचार संहिता र पत्रकार आचार संहितालाई पालना गर्दै आफ्नो जिम्मेवारी पूरा गर्न सदस्य बिडारीले आग्रह गरे ।
दर्ता भएर नियमसंगत संचालनमा रहेका संचार माध्यमको संरक्षक रहेको प्रेस काउन्सिल नै कतिपय अवस्थामा ‘मिडिया’बाट पीडित आमनागरिकको पक्षमा समेत उभिनुपर्ने अवस्था हुने भएकोले आचार संहिता पालनमा विशेष संवेदनशील हुन बिडारीले अनुरोध गरे ।
निर्वाचनलगायतको संवेदनशील समयमा मिडियामार्फत भ्रामक सूचनाहरूको प्रचारबाजी बढी हुने गरेकोले यस्तो समय आमसन्चारको समेत परिक्षाको पल हुने गरेको छ । विषम परिस्थितिमा संयम रहि सत्य सूचना सम्प्रेषण गर्न र समस्या भएमा काउन्सिलले तोकेको फोकल पर्सनलाई तत्काल खबर गर्न उनले आग्रह गरे ।
महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा महासंघ प्रदेश सदस्य सुवर्णलाल श्रेष्ठ, जिल्ला शाखाका पुर्व अध्यक्ष भानुभक्त आचार्य, विभिन्न पत्रपत्रिकाका प्रकाशक तथा सम्पादकहरूको उपस्थिति थियो ।
छलफलमा पत्रपत्रिका वर्गीकरण, लोककल्याणकारी बिज्ञापनलगायको सवालमा समेत छलफल गरिएको थियोे ।

















