हेटौंडा / जिल्ला प्रशासन कार्यालय, मकवानपुरले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाभित्र व्यक्तिगत रूपमा राखिएका इजाजत प्राप्त हातहतियार अनिवार्य रूपमा बुझाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नजिकको प्रहरी इकाई वा जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा हातहतियार बुझाउनुपर्ने व्यवस्था गरिएको हो।
प्रशासनले बुझाइएका हातहतियारहरू निर्वाचन कार्य सम्पन्न भएको एक महिनापछि सम्बन्धित धनीलाई सुरक्षित रूपमा फिर्ता गरिने जनाएको छ। साथै तोकिएको समयभित्र हातहतियार नबुझाएमा वा अटेर गरेमा प्रचलित कानुन बमोजिम कारबाही अगाडि बढाइने चेतावनी पनि दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई प्राप्त हातहतियारको संकलन, सुरक्षित भण्डारण तथा अभिलेख राखी निर्वाचन सम्पन्न भएपछि लगत कट्टा गरी फिर्ता दिने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

















