मकवानपुरमा सबै उम्मेदवार निर्विवाद, उजुरी नपरेपछि चुनावी प्रक्रिया थप सहज

Image

हेटौंडा/ मकवानपुर जिल्लामा हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका सबै उम्मेदवार निर्विवाद बनेका छन्। उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने तोकिएको समयसीमाभित्र कुनै पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार निर्वाचन कार्यक्रमअनुसार २०८२ साल माघ ६ गते उम्मेदवारी दर्ता भएका उम्मेदवारविरुद्ध माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने व्यवस्था गरिएको थियो। तर उक्त अवधिभर एक पनि उजुरी नपरेपछि सबै उम्मेदवारको प्रक्रिया निर्वाध रूपमा अघि बढ्ने देखिएको उहाँले जानकारी दिनुभयो।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मकवानपुरका दुई निर्वाचन क्षेत्रबाट कुल ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन क्षेत्र नम्बर–१ बाट २३ जना र निर्वाचन क्षेत्र नम्बर–२ बाट २१ जनाको उम्मेदवारी परेको छ।

निर्वाचन क्षेत्र नम्बर–१ मा १३ जना विभिन्न राजनीतिक दलका उम्मेदवार छन् भने १० जना स्वतन्त्र उम्मेदवार रहेका छन्। त्यस्तै, निर्वाचन क्षेत्र नम्बर–२ मा १६ जना दलका उम्मेदवार र ५ जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्।