हेटौंडा । मकवानपुरगढी जेसिजको तेस्रो पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ।
नेपाल जेसिज २०२६ का अध्यक्ष जीवन कार्कीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मकवानपुरगढी जेसिज सन् २०२६ का लागि अध्यक्ष इरोज न्यौपानेले पदस्थापना तथा सपथ ग्रहण गरेका छन्।
कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले नेतृत्व र व्यक्तित्व विकासमा जेसिजको भूमिका महत्वपूर्ण रहेको बताए। उनले नयाँ सोच, दृष्टिकोण र सिर्जनशीलताले समाजलाई सकारात्मक दिशामा लैजाने उल्लेख गर्दै युवाहरूलाई सही मार्गमा अघि बढ्न आग्रह गरे।
“समाजको अपेक्षा र भरोसाअनुसार काम गर्नुहोस्,” उनले भने। सामाजिक कार्यमार्फत शाखालाई उत्कृष्ट बनाउने दिशामा लाग्न समेत उनले सुझाव दिए।
कार्यक्रममा मकवानपुरगढी जेसिजलाई मातृत्व प्रदान गर्ने पालुङ जेसिज वर्ष २०२५ का अध्यक्ष माधव कार्की, हेटौंडा जेसिज वर्ष २०२६ का अध्यक्ष सन्तोष पराजुली तथा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतको उपस्थिति रहेको थियो।
मकवानपुरगढी जेसिज वर्ष २०२६ का लागि कार्यकारिणी उपाध्यक्षमा सुजन सापकोटा र सुबास अधिकारी चयन भएका छन्। उपाध्यक्षहरूमा किरण खनाल, पुष्कर बहादुर घिमिरे, निश्चल चौलागाईं र बिनम्र अधिकारी चयन भएका छन्।
त्यस्तै महासचिवमा सुनिल पाख्रीन, कानुन सल्लाहकारमा रोहित पुडासैनी र कोषाध्यक्षमा सन्तोष न्यौपाने चयन भएको मकवानपुरगढी जेसिजका संस्थापक अध्यक्ष पुष्पराज पुडासैनीले जानकारी दिए।
पत्रकार सरिता दाहाललाई पत्रकारिता पुरस्कार
कार्यक्रमकै अवसरमा पत्रकार सरिता दाहाललाई नगदसहित सम्मान प्रदान गरिएको छ। संस्थापक अध्यक्ष पुष्पराज पुडासैनीका हजुरबुवाको नाममा स्थापना गरिएको स्वर्गीय बुद्धिप्रसाद पुडासैनी स्मृति पत्रकारिता पुरस्कार दाहाललाई प्रदान गरिएको हो।
पुरस्कार नेपाल जेसिजका अध्यक्ष जीवन कार्की, मकवानपुरगढी जेसिजका संस्थापक अध्यक्ष पुष्पराज पुडासैनीलगायतले संयुक्त रूपमा प्रदान गरेका थिए।
२०६० सालदेखि पत्रकारितामा सक्रिय दाहाल हाल राजधानी राष्ट्रिय दैनिक, सहीखबर डटकम तथा सहीखबर साप्ताहिकमा आबद्ध छिन्। उनी मकवानपुरगढी पत्रकार समाजकी संस्थापक अध्यक्ष समेत हुन् भने हाल प्रेस चौतारी नेपाल, मकवानपुरकी अध्यक्षको जिम्मेवारी सम्हालिरहेकी छन्।

















