हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालका लागि इजरायली राजदूत शमुलिक एरी बास, उप–मिशन प्रमुख जानान बेबर तथा किनेरेट एकेडेमी, इजरायलका प्रतिनिधि नरेन्द्र थापासँग औपचारिक भेटवार्ता गर्नुभएको छ।
उक्त भेटमा बागमती प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद् (PCTEVT) की प्रमुख कार्यकारी निर्देशक शान्ति लामा (गुरुङ), अरावा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद बजगाईं तथा रामशरण पौडेलको समेत उपस्थिति रहेको थियो।
भेटका क्रममा कृषि आदान–प्रदान कार्यक्रम (Agricultural Exchange – Learn and Earn Program) लगायत आगामी दिनमा बागमती प्रदेश सरकार र इजरायली साझेदार संस्थाहरूबीच हुन सक्ने सहकार्यका विषयमा विस्तृत छलफल भएको जनाइएको छ। छलफलमा कृषि शिक्षा, आधुनिक कृषि प्रविधिको विस्तार, उद्यमशीलता विकास तथा औद्योगिक प्रगतिका क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिने विषयमा विशेष जोड दिइएको थियो।
मुख्यमन्त्री बानियाँसहितको छलफलमा बागमती प्रदेशभित्रका नागरिकलाई आधुनिक कृषि प्रविधिको पहुँच विस्तार गर्ने, सीप विकास गर्ने र यसमार्फत दिगो विकास तथा आर्थिक समृद्धिमा योगदान पुर्याउने विषयमा साझा समझदारी कायम भएको छ।
साथै, प्रदेशभित्रका अस्पताल तथा सार्वजनिक संस्थाहरूलाई अझ व्यवस्थित र सुदृढ बनाउँदै अघि बढ्ने विषयमा पनि सहमति भएको छ।

















