हामी उत्साहित छौँ, हामी जित्छौँ : रामेश्वर राना

Image

हेटौंडा — नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार रामेश्वर रानाले पार्टी कार्यकर्ताहरू उत्साहपूर्वक निर्वाचन अभियानमा जुटेको बताउनुभएको छ।

नेकपा एमाले हेटौंडा–४ नम्बर वडामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रानाले हेटौंडा–४, ६, ७ र १४ नम्बर वडामा सम्पन्न अगुवा कार्यकर्ता भेलाबाट आफू अत्यन्त उत्साहित भएको उल्लेख गर्नुभयो। उहाँले कार्यकर्ताहरूको सक्रियता र संगठनको बलका आधारमा एमालेको जीत सुनिश्चित रहेको दाबी गर्नुभयो।

रानाले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्दै विकास र समृद्धिको नेतृत्व नेकपा एमालेले गर्दै आएको बताउँदै आगामी दिनमा पनि देशको समग्र विकासका लागि एमालेले बहुमत ल्याउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले प्रतिस्पर्धीसँग स्वस्थ प्रतिस्पर्धा गर्दै निष्पक्ष रूपमा जीत हासिल गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा पार्टी केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले विकास र समृद्धिका लागि पार्टीले निर्वाह गरेको भूमिकाका कारण मकवानपुर जिल्लामा नेकपा एमालेले दुवै सिट जित्ने निश्चित रहेको बताउनुभयो। उहाँले सम्पूर्ण पार्टी पंक्ति एकजुट भएर संगठन सुदृढ गर्दै पार्टीमाथि देखिएका चौतर्फी आक्रमणको प्रतिरोध गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

भेलामा जिल्ला सदस्य तथा वडा नं. ४ का इञ्चार्ज शिवहरी दाहालले निर्वाचन तयारीबारे जानकारी गराउनुभएको थियो। पार्टी वडा अध्यक्ष नानिराम अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको वडा सचिव गीता त्रिपाठीले जानकारी दिनुभयो।