हेटौंडा/बागमती प्रदेश सरकारले साना किसानलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यसहित नयाँ कार्यक्रम अघि सारेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री मदुसूदन पौडेलले प्रदेश सरकारले ‘थप पशु उपहार’ कार्यक्रम ल्याउने तयारी गरेको जानकारी दिएका छन्।
मकवानपुरको भीमफेदीमा आयोजित राष्ट्रिय कृषक समूह महासंघ नेपाल, बागमती प्रदेश कार्यसमितिको ‘किसान चौतारी तथा प्रथम प्रदेश परिषद् भेला’लाई सम्बोधन गर्दै मन्त्री पौडेलले निर्वाहमुखी कृषिमा सीमित रहेका किसानलाई व्यवसायिक उत्पादनमा जोड्ने सरकारको प्राथमिकता रहेको बताए।
कार्यक्रम अनुसार एउटा गाई पालिरहेका किसानलाई थप दुई वटा गाई र एउटा भैंसी पाल्ने किसानलाई अर्को भैंसी उपलब्ध गराउने योजना छ। मन्त्री पौडेलले भने, “साना किसानलाई प्रोत्साहन गरेर उत्पादन बढाउनु नै हाम्रो लक्ष्य हो। यसले किसानको आयस्तर सुधार गर्नुका साथै स्थानीय उत्पादनमा पनि वृद्धि गर्नेछ।”
प्रदेशमा किसानको स्पष्ट वर्गीकरण नहुँदा अनुदान वितरण प्रभावकारी हुन नसकेको स्वीकार गर्दै उनले अब छिट्टै वर्गीकरण प्रक्रिया टुंग्याइने प्रतिबद्धता जनाए।
युवा पलायनलाई चुनौतीको रूपमा लिँदै प्रदेश सरकारले कृषिमा संलग्न युवालाई आकर्षित गर्न विशेष प्रोत्साहन कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। डिप्लोमा तहसम्म अध्ययन गरेका युवाले व्यावसायिक कृषि सुरु गरेमा प्रदेश सरकारले ८ देखि १० लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउँदै आएको मन्त्री पौडेलले जानकारी दिए।
कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाबाट आएका किसान प्रतिनिधिहरूको सहभागिता थियो। भेलामा साना किसानका समस्या, कृषि प्रविधिमा पहुँच, तथा आगामी नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयमा गहन छलफल गरिएको थियो।

















