सहिद दिवस २०८२ सप्ताहव्यापी कार्यक्रमसहित भव्य रूपमा मनाइने

Image

हेटौंडा/ सहिद स्मारक विकास समिति, हेटौंडाले सहिद दिवस २०८२ लाई सप्ताहव्यापी कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाउने निर्णय गरेको छ। समितिले आज पत्रकार भेटघाट कार्यक्रममार्फत सहिद सप्ताहका कार्यक्रम सार्वजनिक गर्दै सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको हो।

आफ्नो मातृभूमिको सार्वभौमिकता, अखण्डता र स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदहरूको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यसहित सहिद दिवस मनाइँदै आएको समितिको भनाइ छ। सहिद स्मारकलाई राष्ट्रिय चेतना, इतिहास अध्ययन र प्रेरणाको केन्द्रको रूपमा विकास गर्दै लैजाने लक्ष्य रहेको समितिले जनाएको छ।

समितिका अनुसार सहिदहरूको त्याग, बलिदान र योगदान भावी पुस्तामा हस्तान्तरण गर्नु आजको आवश्यकता हो। सहिद स्मारक सम्पूर्ण नागरिकको साझा सम्पत्ति भएकाले यसको संरक्षण र विकासमा सबै क्षेत्रको सहयोग अपरिहार्य रहेको समितिको आग्रह छ।

सप्ताहव्यापी कार्यक्रम तालिका
समितिले सार्वजनिक गरेको कार्यक्रम अनुसार:
• माघ १० गते – पत्रकार भेटघाट तथा कार्यक्रम सार्वजनिक
• माघ ११ गते – स्मारक परिसर सरसफाइ
• माघ १२ गते – समितिको १६औँ परिषद् बैठक तथा विद्यार्थी–सहिद स्मारक अन्तर्क्रिया
• माघ १३ गते – रक्तदान कार्यक्रम (नेपाल रेडक्रसको समन्वयमा)
• माघ १४ गते – प्रथम सहिद लखन थापा वाटिकामा श्रद्धाञ्जली
• माघ १५ गते – “सहिदको सपना र नवयुवाको कर्तव्य” विषयक वक्तृत्वकला प्रतियोगिता

• माघ १६ गते – सहिदप्रति सलामी, माल्यार्पण, श्रद्धाञ्जली सभा, सम्मान पुरस्कार वितरण तथा कार्यक्रम समापन
समितिले सहिद सप्ताहका सम्पूर्ण कार्यक्रमको प्रचार–प्रसारमा सञ्चार माध्यमहरूको सहयोग अपेक्षा गर्दै कार्यक्रमहरूमा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।