बागमती प्रदेशमा कांग्रेस–एमाले गठबन्धनको वर्चस्व, राष्ट्रिय सभामा देवकोटा र दंगाल निर्वाचित

Image

हेटौंडा / राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले सफलता हात पारेको छ। महिलातर्फ कांग्रेसकी गीता देवकोटा र अन्य समूह (खुला) तर्फ एमालेका प्रेमप्रसाद दंगाल विजयी भएका हुन्।

निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवारसहित कुल ६ जनाबीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धात्मक चुनावमा गठबन्धनका उम्मेदवारहरूले स्पष्ट मतभार अन्तरसहित जीत सुनिश्चित गरे।

महिलातर्फ निर्वाचित देवकोटाले प्रदेश सभाबाट ६० मतसहित ३,१८० मतभार प्राप्त गरिन् भने स्थानीय तहबाट १६१ मत पाएर ३,०५९ मतभार जोडिन्। यससँगै उनको कुल मतभार ६,२३९ पुगेको छ।

अन्य समूहबाट विजयी दंगालले प्रदेश सभाबाट ५९ मत प्राप्त गरी ३,१२७ मतभार कमाए। स्थानीय तहबाट १६२ मतसहित ३,०७८ मतभार जोड्दै उनले कुल ६,२०५ मतभार हासिल गरे।

महिलातर्फ नेकपाकी उम्मेदवार सरोजकुमारी झा ले २,५२२ मतभार ल्याउँदा नेमकिपाकी कविता महर्जन ले १९७ मतभार प्राप्त गरिन्।
अन्य समूहमा नेकपाका प्रेमप्रसाद सापकोटा ले २,५४१ मतभार र नेमकिपाका विक्रम ढुकुछे ले १९७ मतभार पाएका छन्।

निर्वाचनमा बागमती प्रदेश सभाका ८९ सदस्य तथा स्थानीय तहका २२९ जना प्रमुख–उपप्रमुख गरी कुल ३१८ मतदाता सहभागी भएका थिए। निर्वाचन कार्यालयका अनुसार प्रदेश सभाबाट ४,७१७ र स्थानीय तहबाट ४,३५१ गरी कुल ९,०६८ मतभार खसेको थियो।