मिनरल वाटर बोकेको आईचर गाडी इन्द्रसरोवर तालमा खस्यो

Image

हेटौंडा / मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–१, मार्खुचौरस्थित मार्खु–कंलकी सडक खण्डमा मिनरल वाटर (खानेपानी) बोकेको आईचर गाडी तालमा खसेको छ।
मिति २०८२।१०।१० गते अपराह्न करिब ४:३० बजेको समयमा कंलकीबाट मार्खुतर्फ आउँदै गरेको बा ३ ख ३९५४ नम्बरको आईचर गाडी पानी झार्नका लागि रोकेको अवस्थामा अचानक अगाडि बढ्न गई सडकबाट करिब १५ मिटर तल इन्द्रसरोवर तालमा खसेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ अ.प्र.पोष्ट मार्खु, मकवानपुरबाट प्रहरी सहायक निरीक्षक दिपेश यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। गाडी हाल तालको पानीमा डुबेको अवस्थामा रहेको र निकाल्न आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको पुष्टि गरिएको छ। घटनास्थल अ.प्र.पोष्ट मार्खुबाट करिब ७०० मिटर पूर्वतर्फ पर्दछ।
गाडी धनी ललितपुर महानगरपालिका–११, शंखमुल निवासी दिगज अमात्य रहेको खुलेको छ। गाडी चालक गोरखा जिल्ला सुलिगढ गाउँपालिका–१ निवासी २१ वर्षीय सुजन परियार रहेका छन् भने सह–चालक मकवानपुरगढी गाउँपालिका–३ निवासी १८ वर्षीय सुजन जिम्बा रहेका छन्।