हेटौंडा / नेकपा एमाले मकवानपुर जिल्ला कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक तयारीलाई तीव्र बनाएको छ। जिल्लाले मकवानपुर इञ्चार्ज तथा प्रतिनिधिसभा उम्मेदवार रामेश्वर रानाको संयोजकत्वमा २०२५ सदस्यीय प्रतिनिधिसभा निर्वाचन परिचालन समिति–२०८२ गठन गरेको छ।
निर्वाचनलाई प्रभावकारी बनाउन केन्द्रदेखि वडा तहसम्मका पार्टी संरचना, जनप्रतिनिधि, जनसंगठन, स्ववियुका निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई समितिमा समेटिएको जिल्ला उपाध्यक्ष हिदम लामाले जानकारी दिए।
समितिको सचिवको जिम्मेवारी हिदम लामालाई नै दिइएको छ भने ७७ सदस्यीय सचिवालय समिति समेत गठन गरिएको छ। साथै, विभिन्न क्षेत्रगत तथा विषयगत उपसमिति पनि बनाइएका छन्। पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा निर्वाचन परिचालन अनुगमन समिति गठन गरिएको छ।
क्षेत्रगत संरचनाअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नम्बर १ को परिचालन समितिको संयोजक एकालाल श्रेष्ठ, सहसंयोजक नवीन सिग्देल र कमल विष्ट तथा सचिव अनिल बानियाँ तोकिएका छन्। क्षेत्र नम्बर २ मा भारती पाठक संयोजक, बलराम बल र राजाराम स्याङ्तान सहसंयोजक तथा मेम्मर लामा सचिव चयन भएका छन्।
यसैगरी प्रचार समिति, घोषणा पत्र निर्माण समिति, आर्थिक व्यवस्थापन, कानुनी परामर्श, कार्यालय सञ्चालन, प्रचार सामग्री व्यवस्थापन, जनसांस्कृतिक अभियान, भौगोलिक रूपमा बाहिर रहेका मतदाता समन्वय समिति लगायत विभिन्न जिम्मेवारी समेत तोकिएको छ।
बैठकले जिल्लाका १० पालिका, २ इलाका र १०२ वडामा समेत निर्वाचन परिचालन समिति गठन गरी कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। साथै, माघ महिनाभित्र सबै जनसंगठनका जिल्ला तथा पालिका तहमा निर्वाचन सहयोग समिति गठन गर्ने लक्ष्य राखिएको छ।
जिल्ला उपाध्यक्ष हिदम लामाको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी केन्द्रीय सचिव महेश बस्नेत प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा केन्द्रीय सदस्यहरू रामेश्वर राना, महेशकुमार बर्तौला, भारती पाठक, एकालाल श्रेष्ठ, केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देल, प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल, प्रदेश उपसचिव भक्तकुमारी लामा लगायत नेताहरूको उपस्थिति रहेको थियो।

















