संसदको फर्स्ट बेन्चबाट जनताको आवाज बुलन्द बनाउने मेरो उम्मेदवारी : महेश बर्तौला

Image

हेटौंडा/ नेकपा (एमाले) का युवा नेता तथा मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश कुमार बर्तौलाले आफू संसदमा जनताको सेवक र अधिकारको पहरेदारका रूपमा उभिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

हेटौंडा उपमहानगरपालिका–११, नवलपुरमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले आफ्नो उम्मेदवारी मकवानपुरका जनताको आवाजलाई राष्ट्रिय राजनीतिमा सशक्त रूपमा उठाउने उद्देश्यले दिएको स्पष्ट पार्नुभयो।

उहाँले अघिल्लो कार्यकालमा संसदको रोष्ट्रम तथा विभिन्न संसदीय समितिहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै भन्नुभयो, “म चुनाव जितेर अन्य सांसदजस्तै गुमनाम हुने व्यक्ति होइन। विगतमा संसदमा जनसरोकारका विषयहरू कसरी उठाएँ भन्ने कुरा सबैका सामु स्पष्ट छ। यसपटक पनि संसदको फर्स्ट बेन्चमा बसेर जनताको पीडा, समस्या र विकासका एजेन्डालाई अझ प्रभावकारी रूपमा उठाउने मेरो उम्मेदवारी हो।”

उहाँले आफू संसदमा केवल उपस्थितिका लागि मात्र नभई मकवानपुरको समग्र विकास, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउन निरन्तर संघर्ष गरिरहेको दाबी गर्नुभयो। काम गर्ने नेतालाई जनताले चिनिसकेको बताउँदै उहाँले विपक्षीका भ्रम चिर्दै जनता पुनः एमालेको पक्षमा उभिने विश्वास व्यक्त गर्नुभयो।

यसैबीच, नेकपा (एमाले) मकवानपुर क्षेत्र नं. २ ले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउने भएको छ। निर्वाचन परिचालन समितिका अनुसार फागुन २१ गते मंगलबारदेखि औपचारिक रूपमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सुरु हुनेछ।

हेटौंडा उपमहानगरपालिका वडा नं. ३, बसामाडीबाट सुरु हुने अभियानमा उम्मेदवार महेश बर्तौलासहित पार्टीका नेता तथा कार्यकर्ताहरू प्रत्यक्ष रूपमा जनताको घरआँगनमा पुग्नेछन्। “जनताको सुझाव सुन्ने र पार्टीका योजना सुनाउने उद्देश्यले हामी भोलिदेखि गाउँ–बस्तीमा पुग्दैछौं,” निर्वाचन परिचालन समितिका एक सदस्यले जानकारी दिनुभयो।

एमालेले विकास र समृद्धिलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाउँदै प्रचार अभियान अघि बढाएको छ। भोलिको कार्यक्रममा सहभागी भई पार्टीको पक्षमा जनमत सिर्जना गर्न सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशनसमेत दिइएको छ।