मतदाता मन जित्न कांग्रेसको गाउँ अभियान, विकास र नेतृत्वको मुद्दामा जोड

Image

हेटौंडा /आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस मकवानपुरले गाउँ केन्द्रित अभियानलाई तीव्र बनाएको छ। मनहरी, राक्सिराङ र कैलाशमा आयोजित भेटघाट कार्यक्रममार्फत उम्मेदवारहरूले कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्दै चुनावी एजेन्डा प्रस्तुत गरेका छन्।

कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले विकट क्षेत्रको विकासमा कांग्रेसको योगदान निर्णायक रहेको उल्लेख गर्दै जनताको विश्वास कायम राख्न आग्रह गरिन्। उनले जितपछि कैलाश र राक्सिराङजस्ता क्षेत्रमा विकासलाई थप प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिन्। आफ्नो उम्मेदवारी अन्तिम भएको बताउँदै उनले जनताको समर्थन भावनात्मक रूपमा माग गरिन्।

यस्तै, पार्टी सभापति तथा क्षेत्र नम्बर २ का उम्मेदवार बुद्ध लामाले मुलुकको नेतृत्व अब युवा पुस्ताले सम्हाल्नुपर्ने धारणा राखे। उनले गगन थापालाई प्रधानमन्त्री बनाउने लक्ष्यसहित कांग्रेसलाई बलियो बनाउने आह्वान गरे। साथै कैलाश गाउँपालिकालाई विकासको केन्द्रमा राख्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा विभिन्न तहका नेताकार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो भने एमाले परित्याग गरी दुई जना कांग्रेसमा प्रवेश गरेको पार्टीले जनाएको छ।