हार्दिक अपिल आफ्नो मतलाई हल्का नठानौं। यो मत देश र हाम्रो भविष्यको हस्ताक्षर हो: बिसाल राज महत

Image

हेटौंडा/ मुलुकमा पटक पटक राजनीतिक परिवर्तन भए। व्यवस्था फेरियो, नारा फेरिए, तर जनताको दैनिकी, पीडा र अपेक्षामा भने खासै परिवर्तन आएन भन्ने गुनासो आज हरेक चोक चौतारीमा सुनिन्छ। यो गुनासो भावनाको मात्र होइन, अनुभवको निचोड हो।

कसैको निधारमा लेखिएको हुँदैन ऊ असल हो कि खराब। तर उसको व्यवहारले भन्छ, उसको इतिहासले बोल्छ, र वर्तमानले पुष्टि गर्छ। हिजो के गर्‍यो, आज कस्तो छ र भोलि के गर्न सक्छ यो अनुमान गर्न हामीलाई भविष्यवक्ता चाहिँदैन, विवेक नै काफी हुन्छ।

दैनिक मदिरा सेवन गर्ने व्यक्तिको लिभर बिग्रन्छ भन्ने कुरा अनुमान होइन, निश्चित परिणाम हो। त्यस्तै, गाडी जति नै महँगो र आधुनिक किन नहोस्, यदि चालक सिकारु वा गैरजिम्मेवार भयो भने दुर्घटना अवश्य हुन्छ। देश पनि त्यही गाडी जस्तै हो व्यवस्था र संविधान मात्र पर्याप्त हुँदैन, त्यसलाई चलाउने चालक अर्थात् नेतृत्व सही हुनुपर्छ।

विचार र सिद्धान्त आफैंमा पवित्र हुन सक्छन्। तर ती विचार बोक्ने व्यक्ति नै कमजोर, स्वार्थी र अनैतिक भयो भने, त्यो विचार कागजमै सीमित हुन्छ। खराब व्यक्तिबाट राम्रो नीति लागु हुने अपेक्षा गर्नु आफैंमा आत्मधोका हो।

त्यसैले अब मतदान गर्दा मेरो पार्टी, आमा पट्टि, बा पट्टि, मितेरी साइनो हेर्ने होइन। आँखामा पट्टी बाँधेर होइन, विवेक खोलेर सोच्ने बेला आएको छ। किनकि तपाईंको एउटा मतले तपाईंको रोजगारी, तपाईंका बालबालिकाको शिक्षा, स्वास्थ्य, र समग्रमा देशको भविष्यको दिशा तय गर्छ।

यो चुनाव केवल सरकार बनाउने प्रक्रिया होइन, यो समृद्धिको यात्रा तय गर्ने नीति निर्माणको आधार हो। जोसमा होइन, होसमा मतदान गरौं। भावनामा बगेर होइन, चेतनाले निर्णय गरौं।

औषधि किन्नु भन्दा बिरामी हुन नदिनु बुद्धिमानी हुन्छ। गलत नेतृत्व रोजेर पछुताउनु भन्दा, सही नेतृत्व छान्नु नै साँचो देशप्रेम हो।