टोपी र झण्डा बदलेर आउने उम्मेदवारप्रति सचेत रहन महतको अपिल

Image

हेटौंडा / सेवा सहयोग हामिका अध्यक्ष तथा सामाजिक अभियन्ता बिशाल राज महतले आगामी चुनावलाई पार्टीगत प्रतिस्पर्धा होइन, नैतिकता र इमानदारी नाप्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले गलत उम्मेदवारलाई समर्थन गर्नु राष्ट्रका लागि दीर्घकालीन बोझ बन्ने चेतावनी दिए।

महतका अनुसार भोट माग्ने काम कुनै रंगमञ्चीय संवाद जस्तो होइन, जहाँ ताली पाउन जे बोले पनि हुने अवस्था सृजना गरिनुहुँदैन। “जनताको मनोभावनासँग खेल्नु विश्वासमाथि खुकुरी चलाउनु हो,” उनले लेखेका छन्। उनका भनाइमा आजकल राजनीति भनेकै यस्तै व्यवहारलाई सजाएर प्रस्तुत गर्ने कला बनेको छ।

उम्मेदवारहरू टोपी र झण्डा बदलिए पनि नियत नबदलिने प्रवृति रहेको उल्लेख गर्दै महतले मतदाताले भावनामा होइन, विवेकमा आधारित निर्णय गर्नुपर्नेमा जोड दिएका छन्। “नारा होइन नियत चिन्नुस्, भाषण होइन व्यवहार अध्ययन गर्नुस्, अनुहार होइन इतिहास हेर्नुस्,” उनले मतदातासँग अपिल गरेका छन्।

उनले गलत निर्णयको प्रभाव व्यक्तिगत रूपमा उम्मेदवारले नभोग्ने, यसको मूल्य देशले चुकाउनु पर्ने स्पष्ट गर्दै भने, “सार्वभौमता अचानक हराउँदैन, गलत चुनावहरूको यात्रा हुँदै बिस्तारै फिस्लिँदै जान्छ।”

महतले यसपटक लहलहैमा भोट नहालि जिम्मेवारीपूर्वक सही चरित्रलाई समर्थन गर्न आग्रह गर्दै भोट सानो देखिए पनि यसको परिणाम राष्ट्रको भविष्य निर्धारण गर्ने भएकाले सचेत चुनाव आवश्यक रहेको उल्लेख गरेका छन्।